अफिम कारोबार गर्ने पूर्व महिला वडा सदस्य पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।

विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार भएकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्ववडा सदस्यसमेत हुन् । आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्ट हाउसको कोठामा बसेकी घर्तीमगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।

घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसीरहेको अवस्थामा घर्तीमगरलाई नियन्त्रणमा लिइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राईले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको सहयोगमा घर्तीमगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्तीमगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया