शिक्षक अभावमा विद्यार्थीहरुको भविष्य अन्यौलमा

मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ स्थित जनजागृति प्राथमिक विद्यालय अध्यनरत विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रुपमा शिक्षा लिन पाएका छैनन् ।
करिब चार सय घरधुरी रहेको मुगुम गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ ।

त्यहाँ एउटा मात्र प्राथमिक विद्यालय छ । २०२८ सालमा स्थापना भएको विद्यालयमा अहिले २७ विद्यार्थी अध्ययनरत छन् र उनीहरुका लागि दुई जना शिक्षकको दरबन्दी छ । दुईमध्ये एक शिक्षक पनि कहिलेकाहीँमात्र विद्यालय आउँछन् ।

यस गाउँका हुने–खानेहरुले आफ्ना बालबालिका सदरमुकाम गमगढी, जुम्ला, काठमाडौं, गुम्बालगायतका ठाउँमा अध्ययन गर्न पठाउँछन् । बाहिर पठाउन नसक्ने अभिभावकले मात्र यस विद्यालयमा पढाउँछन् । तर, शिक्षक नै नियमित स्कुलमा नआउँदा विद्यार्थी घोडा र चौंरी गोठालो बनिरहेका छन् । तर, जनजागृति प्राविका प्रधानाध्यापक पासाङ लामाले भने हिमाली बस्ती भएकाले ६ महिना मात्रै पढाइ हुने बताए ।

यता मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले सबै क्षेत्रमा पालिकाले हेर्न नसक्ने उल्लेख गर्दै शिक्षकहरु नियमित विद्यालय आउने नआउने अभिभावकले पनि त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताए ।

मानव विकासका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण पक्ष हो । विद्यार्थीको भविष्यमा खेलवाड गर्नु राम्रो होइन । नवनिर्वाचित जनप्रतिनिधिले यो अवस्था सुधार गर्ने उनले बताए ।

यो एउटा उदाहरण मात्र विद्यालय हो । मुगु जिल्लामा नियमित पढाई नहुने यस्ता विद्यालय धेरै छन् । सरकारी सेवा गर्ने अनि काम नगर्ने प्रवृत्तिको अन्त्य नभएसम्म शैक्षिक क्षेत्रमा विकराल समस्या नआउला भन्न सकिन्न ।

प्रतिक्रिया