उच्च जोखिममा गाईघाट बजार

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनर्निर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको हो ।

त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइँदैन । वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्कीले बताए । ‘तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि हुनुहुन्थ्यो,’ उनले भने ।

बरुवा नदी नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुंगा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताए । उनले भने, ‘तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।’

वर्षायाम सुरु हुनै लाग्दा बरुवा नदीमा पानीको बहाव दिनानुदिन बढ्न थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बडेर केही ढुंगाबगाउन थालेपछि बाँध फुट्नसक्ने अवस्थामा पुगेको हो । ‘बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्ने छ,’ शिवालय टोलका दीपिका कार्कीले बताइन् । उनका अनुसार यसअघि पटकपटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो ।

स्थायी रूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि २०३१, २०३९ र २०५७ सालमा भत्किएको त्रियुगा–११ का युवराज बुढाथोकीले बताए । उनका अनुसार विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा पर्दा अधिकांश स्थानीय विस्थापित भएको थिए ।

स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका बृद्ध रत्नकुमार श्रेष्ठले बताए । उनले भने, ‘अब बर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कस्ले ध्यान दिने खै ।’ हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया