साँगाबाट स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवक पक्राउ

काभ्रे । काभ्रेको साँगा चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जना युवक पक्राउ परेका छन् । प्रहरी निरीक्षक भगवान अधिकारीको कमाण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले हिजो मंगलबार अपराह्न ४ः३० बजे साँगा चोकमा नियमित चेकजाँचको क्रममा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गरेको थियो ।

जाँचको क्रममा जिल्ला सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको रू २५,००,००० (पच्चिस लाख रुपैयाँ) नगद फेला परेको प्रहरीले जनाएको छ । नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी जिल्ला सप्तरी, छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय संजय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको श्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।घटना बारे प्रहरी भन्छ पच्चिस लाख रुपैयाँ नगद लिएर सार्वजनिक सवारीमा यात्रा गर्नु र स्रोत खुलाउन नसक्नु प्रहरीका लागि शंका पैदा गर्ने खालको घटना बनेको छ ।

प्रारम्भिक सोधपुछमा रकमको सम्बन्धमा स्पष्ट जानकारी दिन नसकेको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा विद्यमान कानुनी प्रावधान अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया