काभ्रे । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी महत्वपूर्ण सूचनाको प्रवाह गर्ने उद्देश्यले आज काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेलको हेरिटेज होममा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीमा देखिएका समस्या, समाधान, सरकारी नीतिहरू र सुरक्षाका उपायबारे गहिरो छलफल भएको थियो । कार्यक्रमको आयोजना सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत धुलिखेल नगरपालिकाको नेतृत्वमा सिविक फोरम फर सस्टेनेबल डेभलपमेन्ट को सहजीकरणमा गरिएको हो ।
सो कार्यक्रम नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सहकार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ । कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचनाहरु प्रस्तुत गर्दै पत्रकारहरुको भूमिकालाई अझ प्रभावकारी बनाउन आह्वान गरे । ‘सञ्चारकर्मीहरुले युवालाई सजग बनाउनेतर्फ विशेष योगदान पुर्याउन सक्छन्,’ कुँवरले भने ।
कार्यक्रममा वैदेशिक रोजगार विभागको वेबसाइट (www.dofe.gov.np) मार्फत उपलब्ध रोजगार विवरण हेरी निर्णय लिन सुझाव दिइयो । आवश्यक सीप नभई विदेश जानु खतरापूर्ण हुने भएकाले सम्बन्धित ट्रेडमा तालिम लिएर मात्र रोजगारीमा जान सुझाव दिइयो । श्रम स्वीकृती लिनु अनिवार्य छ । भिजिट भिसामा काम गर्न जानु कानुनविपरीत हो र यसले ठगी र दुर्घटनाको जोखिम बढाउँछ ।देशिक रोजगारीमा जाने कामदारले २३०८ रुपैयाँ मासिक जम्मा गरी सामाजिक सुरक्षाको लाभ लिन सक्नेछन् ।
खाडी मुलुक तथा मलेसियामा घरेलु कामका लागि महिलाको आवागमनमा प्रतिबन्ध रहेको जानकारी दिइयो । म्यान् पावर कम्पनीसँगको लेनदेनको भरपाई सुरक्षित राख्न र वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण कागजातको प्रतिलिपि आफूसँग राख्न सुझाव दिइयो ।
भारत वा अन्य मुलुकको बाटो भएर विदेश जानु ठगी र अलपत्र पर्ने सम्भावनालाई बढाउँछ।कार्यक्रममा वैदेशिक रोजगारमा जान चाहनेलाई लक्षित गर्दै श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा, र सामाजिक सुरक्षा कोष सम्बन्धी विस्तृत जानकारी पनि प्रदान गरिरहेको बारे बताइएको थियो ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका प्रतिनिधि, सञ्चारकर्मीहरू, सिविक फोरमका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमबाट सहभागी पत्रकारहरुले वैदेशिक रोजगारीको वर्तमान चुनौती र सूचनाको अभावमा परेका समस्याबारे आफ्नो अनुभव साटासाट गरेका थिए । कार्यक्रमले वैदेशिक रोजगारी सम्बन्धी जानकारी, सजगता र सरकारी संयन्त्रसँगको समन्वयलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया