अरूको र्याल के र्याल ? हाम्रा नेताको र्याल पो र्याल

मोहनप्रसाद सापकोटा

मुहान वा जग नै खराब भएकोले डा.रुइत, स्व.डा.उपेन्द्र देवकोटाजस्ता विश्वप्रसिद्ध दक्ष जनशक्ति अबको लामो समयसम्म सम्भवतः यो देशले पाउने छैन । अन्तर्राष्ट्रिय स्तरको आधुनिक विमानस्थल बनाउने ठाउँ नेपालमा कहाँ छ ? कतै प्रकृतिले दिँदैन त कतै अन्तर्राष्ट्रिय कानुनले दिँदैन । नेपालको तराई क्षेत्रमा यस्ता विशाल र सुविधासम्पन्न विमानस्थल बनाउन सकिन्छ । तर प्रयोजन के ? न हाम्रो विमानस्थल कतै जाँदा तेल भर्न मिल्ने बाटो पर्दछ, न त विश्वभरका मानिस यहाँ ओइरने वातावरण नै छ ।

तत्काल देख्दा विकास जस्ता देखिने धेरै कुराहरूमा भित्री नियत सफा हुने गरेको देखिएन । अस्पताल, मेडिकल कलेज, ओखती पसल वा डाक्टर बढी हुनु वा बनाउनु स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको लक्षण हो भनेर तर्क गरिन्छ । म यसमा आंशिक रूपमा मात्र सहमत छु । स्वास्थ्य सेवामा पहुँच नपुग्दासम्मको हदसम्म यसको संख्या वृद्धि सकारात्मक हो । तर, जब यसलाई व्यापार बनाइन्छ तब त्यो अत्यन्त खतरनाक हुन पुग्दछ । घरैपिच्छे जस्तो ओखती पसल, टोलैपिच्छे जस्तो अस्पताल, एउटै सहरमा धेरै मेडिकल कलेज हुनुको अर्थ देशमा स्वास्थ्य सेवाको गुणस्तर राम्रो छ भन्नु होइन । रोगी नबढे यिनको पेसा चल्दैन त्यसैले यी नियतवश रोगी बढाउनतिर लागिरहेका हुन्छन् । राजनीति गर्नेहरूले पनि जब यसमा लगानी गरिरहेका हुन्छन् तब तिनको भित्री नियत के हुन्छ बताइरहन परेन । यसैले त हरेक एक घरजस्तो बिराएर भट्टी पसल र ओखती पसल पाइन्छन् ।

हजुरहरू पनि त अनेक देश घुम्नुभयो होला । यस्तो कुन देशमा देख्नुभयो ? करोडौँ लगानीमा उत्पादन हुने दक्ष जनशक्ति वा अस्पताल आदिले जनतालाई सेवा मात्र दिन्छन् भन्नु त्यो शिक्षा र त्यो सेवा क्षेत्रको अपमान गर्नु हो । लगानी उठाएर नाफा कमाउनु अनि लाभांश वितरण गर्नु नै यस्ता संस्थाको मूल उद्देश्य हुने गर्दछ । गल्लीगल्लीमा सास फेर्न पनि कठिन हुने ठाउँमा विद्यालय खोल्न दिनु र खोल्नुको भित्री उद्देश्य पनि यही हो । यस्ता विद्यालय, स्वास्थ्य संस्था कलेज आदिको भित्री नालीबेली केलाउनुभयो भने प्रायः सबै राजनीतिक लगानीबाट चलेका देखिनेछन् । अनि यो अवस्थामा सरकारी विद्यालय वा अस्पताल यिनले गुणस्तरीय बनाउँछन् भनेर हामीले सोच्नु कत्तिको सही हुन्छ ? बौद्धिक क्षमताको आधार धन भएपछि त्यसबाट उत्पादन हुने दक्षताको गुणस्तर राम्रो हुन पनि सम्भव नहुँदो रहेछ । यसैले होला घुँडा दुख्यो भनेर गएपछि हातको र हात दुख्यो भनेर गएपछि गोडाको शल्यक्रिया हुन थाल्दो रहेछ ।

यही गम्भीर कारणले गर्दा अर्थात् मुहान वा जग नै खराब भएकोले डा.रुइत, स्व.डा.उपेन्द्र देवकोटाजस्ता विश्वप्रसिद्ध दक्ष जनशक्ति अबको लामो समयसम्म सम्भवतः यो देशले पाउने छैन । यसैगरी विकासको लागि आधारभूत अर्को क्षेत्र भनेको यातायात हो । सडक यातायातमा प्रयोग हुने रोडाबाहेक करिब शतप्रतिशत नै सामानहरू हाम्रो देशमा छैनन्, हाम्रो देशका होइनन् । त्यसैले सडक यातायात बढ्नु हाम्रो देशको हितमा छैन । हामीले बिजुलीबाट चल्ने यातायातलाई नै इमानदारीका साथ विशेष प्राथमिकता दिनुपर्दछ ।

सडकमा जेसुकै गुडे पनि त्यो विदेशीको लगानीजस्तो हुने गर्दछ । सडक बनाउन ऋण दिने विदेशी, त्यसमा चल्ने सवारी साधन विदेशी, सवारी चलाउन चाहिने इन्धन विदेशी, सवारी साधन मर्मत गर्ने चाहिने सबै कुरा विदेशी, मिस्त्री विदेशी, अनि कसरी हामी सडक बढाएर विकसित हुन्छौँ ? सबैका सबै पैसा विदेशमा गइरहेको अवस्था छ ।

हामीले रेलको साटो विद्युतीय रेल, डाँडा डाँडा कोपरेर सखाप बनाउनुभन्दा रोप वे बनाउनतिर लाग्नुपर्दछ । यसले भोलिका दिनमा विश्वमा कतै कुनै समस्या हुँदा पनि हामीलाई धेरै असर गर्दैन । अहिलेको जस्तो युक्रेन पीडित हुन पर्दैन । हिजो नाकाबन्दी ताकाको जस्तो भारत पीडित पनि हुन पर्दैन । कुनै देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु कुनै पनि दृष्टिले राम्रो होइन । विकल्प भए अप्ठ्यारो पर्दा विकल्पको प्रयोग गर्न सकिन्छ ।

काठमाडौंमा अवतरण गर्न नसक्ने अवस्था हुँदा त्यो जहाज भैरहवामा गएर अवतरण गर्न सक्दछ । अन्तर्राष्ट्रिय विमानस्थलको पक्षमा दिइने यसभन्दा बाहेकका तर्कहरूको नियत सही छैन । हाम्रो जस्ता सानो देशमा कतिवटा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ र किन ? यसको अर्को तर्क छ जो सतहमा आउँदैन । काठमाडौंको एकाधिकार तोड्ने वा राजधानीको चापलाई विकेन्द्रित गर्ने । केही हदसम्म यो तर्क पनि सही छ ।

तर, अन्तर्राष्ट्रिय स्तरको आधुनिक विमानस्थल बनाउने ठाउँ नेपालमा कहाँ छ ? कतै प्रकृतिले दिँदैन त कतै अन्तर्राष्ट्रिय कानुनले दिँदैन । नेपालको तराई क्षेत्रमा यस्ता विशाल र सुविधासम्पन्न विमानस्थल बनाउन सकिन्छ । तर प्रयोजन के ? न हाम्रो विमानस्थल कतै जाँदा तेल भर्न मिल्ने बाटो पर्दछ, न त विश्वभरका मानिस यहाँ ओइरने वातावरण नै छ । कुनै तर्क दिएर बनाइएछ भने पनि त्यहाँ ओर्लने र त्यहाँबाट उड्ने विमानलाई हवाइ मार्ग (रुट) को समस्या हुन्छ । भैरहवामा त्यो समस्या देखिएको छ । कुनै दिन यसले पार्ने समस्या विशेष चर्चामा आउने नै छन् ।

नेपाल जहाँ जस्तो भौगोलिक परिस्थितिमा छ त्यो परिस्थिति अत्यन्त संवेदनशील र जोखिमपूर्ण छ । उत्तरतिरकाले रेलका कुरा गर्दा दक्षिणतिरकाहरू सगरमाथा प्वाल पार्न लाग्यो भनेर हल्ला गर्न थाल्दछन् । दक्षिणतिरकोले केही गर्न लाग्दा उत्तरतिरकोले शंका गर्दछ । महेन्द्रको पालामा पूर्वपश्चिम राजमार्ग बनाउँदा भारतले विभिन्न किसिमले अवरोध हाल्न थालेपछि तत्कालीन सोभियत संघलाई विभिन्न खण्डको निर्माणको काम जिम्मा लगाउनुपरेको इतिहास म हजुरहरूलाई स्मरण गराउन चाहन्छु । यसैगरी बिपी राजमार्ग समयमै नबन्नु वा ठूलो नबन्नुका पछाडि पनि अर्को छिमेकी देशको शंकाले काम गरेको छ भन्ने कुरा विचार गर्न अनुरोध गर्दछु । हामीले बनाउने अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग हामीले गर्नुभन्दा बढी हामीलाई नै जोखिम निम्त्याउने किसिमले अरू कसैबाट भविष्यमा हुने छैनन् भन्ने विश्वासिलो आधार के हो ?

राजधानीको विमानस्थलको सुरक्षा व्यवस्थासमेत विदेशीलाई दिन चाहने हाम्रो राजनीतिको भित्री आशय के हो ? यस्ताले राजधानी बाहिरका विमानस्थलको सुरक्षा कसरी गर्दछन् ? नेपालको राजनीतिले आजसम्म निर्माण गरेका विकास आयोजनाहरू हेर्दा ती नेपालीलाई निगाहमा केही दिएजस्तो गरेर नेपालको दोहन गर्ने गरेर नै भएका छन् । मेचीदेखि महाकालीसम्म जानुहोस् त्यही पाउनु हुनेछ । अनि यही राजनीतिले भविष्यमा गर्ने विकास यस्तै हुँदैनन् भन्ने प्रत्याभूति कसले दिन्छ ?

नेपालप्रति भारतको रुची अरू विषयलाई लिएर नभई पानीलाई लिएर मात्र छ । यहाँ हुने राजनीतिक परिवर्तन उसको टाउको दुःखाइको विषय हुँदैन । यहाँका राजनीतिक दलले राजनीतिक हस्तक्षेपका नाउँमा जेजस्ता तर्क गरिरहेका छन् त्यो सही छैन । उसले आफ्नो भूमिको सिँचाइ र आफ्ना जनताको तिर्खा मेटाउन के गर्दा अनुकूल हुन्छ त्यस्तो वातावरण यहाँ बनाउन चाहन्छ । खानेपानीको विकल्प छैन तर बिजुलीको विकल्प छ । अतः बिजुली भारतको पहिलो प्राथमिकतामा पर्दैन । इन्दिरा गान्धीको पालामा फ्रान्सेली विशेषज्ञ टोलीले दिएको प्रतिवेदनअनुसार ऊ नेपालको उच्च भूभागमा विशाल बाँध बाँधी दीर्घकालीन रूपमा सिँचाइ र खानेपानीको समस्याबाट आफ्ना जनतालाई जोगाउन चाहन्छ ।
पञ्चेश्वर, माथिल्लो कोसी आदि जस्ता योजना नेपालको आवश्यकता हेरेर तयार पारिएका योजना होइनन् यी छिमेकी देशका दीर्घकालीन योजना हुन् । हाम्रो देशले भारतको अमुक स्थानमा यो निर्माण गर्ने भनेर बजेटमा राख्न सक्दछ ? तर भारतले गत वर्षकै बजेटमा उच्च कोसी बाँधको कुरा राखेको छ ।

आफ्नो क्षमता नभएपछि अर्काले सहयोग गरी बनाइदिने योजनामा अन्धो भएर विरोध गर्नुको कुनै तूक पनि हुँदैन नै । नामर्द भएपछि स्वास्नी पोइल गई भनेर चिच्याएर हुन्छ र ? तर यस्ता आयोजना बन्दा त्यसबाट नेपालले पाउने फाइदाका बारेमा भने पूरै देश चनाखो हुनु पर्दछ । किनकि आजसम्म बनाइएका आयोजनाहरूबाट त्यो बेलाका कागजमा जे लेखिए पनि नेपाल नराम्ररी ठगिएको छ । एकआपसमा कमिसनलाई लिएर रडाको मच्चाउने सिद्धान्तविहीन राजनीतिको भर नपरी देशभर जहाँसुकै हुने र जो सुकैले गर्ने विकासमा पनि जनता चनाखो हुनुपर्ने अवस्था आएको छ ।

विद्वानहरूले देशको पक्षमा बोल्दछन् भनेर ढुक्क हुने अवस्था पनि छैन किन कि ती पनि झोले बनेका छन् । एक बिटो नोटले गाला रन्कने गरी हानेपछि तीन हातमाथि उफ्रने राष्ट्रियता पनि एकछिनपछि रछ्यानमै घुरेर सुतिरहेको देख्न पाइन्छ । पत्रकार आदिको हैसियत पनि यही नै छ । देशविदेश घुमेर आएका जनता नै अब सजग हुनुपर्दछ । सरकार कति नालायक हुन्छ र छ भन्ने कुरा त सरकारी स्वामित्वका संस्था भकाभक निजीकरण गर्दै लगिएबाटै प्रष्ट हुन्छ । रस हुँदासम्म आफ्ना मान्छे हुलेर ती मार्फत चुसिन्छ र रस सकिएपछि फाल्न खोजिन्छ । भएका, भइरहेका र हुने विकासप्रति जनतामा अपनत्व भएन भने ती टिक्दैनन् । तस्कर तन्त्रका पछि लाग्ने जनतामा अपनत्वको विकास नहुँदो रहेछ ।

कोरियामा विदेशीले बनाइदिएको एउटा सानो कम्पनीलाई पछि आफैँले किनेर चलाई विश्वप्रसिद्ध सामसुङ कम्पनी बनाए । तर हामी एकचोटी पछाडि फर्केर हेरौँ, विदेशीले के के दिएका थिए ? र अहिलेसम्म के के बाँकी छ ? अरूको र्याल के र्याल ? हाम्रा नेताको र्याल पो र्याल भन्दै तिनका पछाडि पछाडि हिँडेर मात्र देश विकास हुँदैन । अहँ हुँदै हुँदैन । बेलैमा जागरुक हुन सिकौँ, अन्धभक्त नबनौँ । इन्द्रीयको नभई विवेकको वशमा पर्न सिकौँ ।

प्रतिक्रिया