इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजसंग बिहीबार भएको भेटमा इयुले नेपालमाथी लगाएको प्रतिवन्ध हटाउन माग गरेका छन ।

मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयुको प्रतिबन्ध हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिएका हुन । भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकोले नेपाली आकास सुरक्षित रहेकोमा जोड दिएका थिए । आइकाओको नतिजा अनुसार नेपाली आकास सुरक्षित रहेको भन्ने देखाएको र अब नेपाल इयुको प्रतिबन्ध सूचीबाट हट्नुपर्ने समय आएको मन्त्री आलेको भनाई थियो ।

आठ वर्षअघि इयुले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याकन गर्दै कालोसूचीमा राखेको थियो । नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइ सकेको छ । इयुले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी गराएका थिए । हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी ३ वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोपको उडान गर्न पाइदैन ।

प्रतिक्रिया