पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

काठमाडौं । नयाँ शैक्षीक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तकको अभाव देखिएपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यसप्रति चासो देखाएको छ । समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले बुधबार सम्बद्ध निकायका पदाधिकारीहरुसँग छलफल गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न निर्देशन दिएको हो ।

नयाँ शैक्षीक सत्र जेठ १ गतेदेखि सुरु भइसकेको छ । शैक्षीक सत्र सुरु भइसक्दा पनि सरकारले भने विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यसअघि सरकारले विद्यार्थीहरुलाई पाठ्यपुस्तकको कुनै समस्या नहुने दाबी गर्दै आएको थियो ।

समितिले छलफलका लागि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले अहिले पनि ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी दिएका थिए । सबै पुस्तक छापिसकेपछि मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको दाबी छ । कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस—युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र सोही कारणले नेपालमा पनि कागजको अभाव देखिएको दाबी पनि महाप्रबन्धक यादवले गरे ।

प्रतिक्रिया