काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई नियुक्त गर्दै पद तथा गोपनीयताको शपथसमेत दिलाएका छन् ।
प्रधानमन्त्री ओलीले त्रिविको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा.डा. अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते ओलीसमक्ष उपकुलपतिका लागि हालका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल र प्रा.डा. दीपक अर्याललाई सिफारिस गरेको थियो ।
२०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुन् । उनी त्रिवि सेवा प्रवेश गरेदेखि नै जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा थिए । २ वर्षअघि नियुक्त प्रा.डा केशरजंग बरालले दलगत राजनीतिक हस्तक्षेपले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गर्दै राजीनामा दिएपछि विश्वविद्यालय नेतृत्वविहीन थियो । बरालले १५ चैतमा दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
अर्याल त्रिवि सिनेट बैठकको अघिल्लो दिन कुलपतिमा नियुक्त भएका हुन् । विश्वविद्यालयको सिनेट आज ( बिहीबार) का लागि तय भएको छ । असार मसान्त्रभित्रै सिनेटबाट विश्वविद्यालयको बजेट पारित गर्नुपर्ने भएकाले पनि उपकुलपति नियुक्तिमा ओलीले तदारुकता देखाएका हुन् । नियुक्तिसम्बन्धी सबै प्रक्रिया बुधबार नै सकिएकाले उपकुलपतिको हैसियतमा अर्याल आजको सिनेटमा उपस्थित हुनेछन् ।
गत २२ गतेका लागि तोकिएको सिनेट बैठक प्रधानमन्त्री ओलीले रोकेका थिए । सिनेट रोकिँदा आगामी वर्षको बजेट पास गर्ने र दीक्षित हुने ९० हजार विद्यार्थीको ग्रेस लिस्टसमेत पारित गर्ने कार्य रोकिएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तोकिएको सिनेटले त्रिविको नीति तथा कार्यक्रम र बजेट पारितको औपचारिकता पूरा गर्दै दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्टसमेत पारित गर्नेछ ।
पोखरा विश्वविद्यालयको बजेट डेढ अर्ब
बुधबार बसेको पोखरा विश्वविद्यालयको २५औँ सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीको अध्यक्षतामा बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धी रूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमै उत्कृष्ट उच्च शिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुुपर्ने बताए । उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले भरमग्दुुर प्रयास गर्ने बताए ।
प्रतिक्रिया