चन्द्रले ल्याए लिम्बू गीत

काठमाडौं । गायक चन्द्र अन्छङ्बोको ‘याक्थुंङ हाङमा तरेमे’ बोलको लिम्बू भाषाको गीतको भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि लिम्बू जातिको धर्म र संस्कृतिमा आधारित गीतमा आवाज दिँदै आइरहेका गायक चन्द्रले मौलिक संस्कृति जर्गेना लक्ष्यका साथ गीत ल्याएको सुनाए । उनलाई यस कार्यमा परिवारले नै साथ दिएको छ ।

हङकङलाई कर्मथलो बनाएका गायक चन्द्र भन्छन्, ‘जीवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिँदैन ।’ ‘याक्थुंङ हाङमा तरेमे’ गीतमा सोल्टीले सोल्टिनालाई लिम्बुवानमा राम्ररी बस्नुहोला, म जहाँ पुगे पनि तिमीप्रतिको माया र साथ सधै रहनेछ भन्ने भाव प्रस्तुत गरिएको छ ।

गीतमा गायक चन्द्रलाई गायिका संगीत आङबुहाङले साथ दिएकी छन् । बब्रिम शेर्माको शब्द तथा संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बू गीतलाई शब्दको भावानुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मिहिनेत गरिएको चन्द्रले बताए ।

उनले भिडियो निर्माणको ध्येय मनोरञ्जनको साथै लिम्बू संस्कार र संस्कृति पुस्तान्तरण गर्न पनि रहेको जनाए । गीतको भिडियोलाई युगल पोमो लिम्बूले निर्देशन गरेका हुन् । उनले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारको प्रस्तुतिमा विशेष मिहिनेत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई उनीकी श्रीमती सुकु नाल्बो, छोरीहरु एञ्जुला, एलिसा अन्छङ्बो र पूर्णबहादुर अन्छङ्बोले साथ दिएका छन् । हङकङको रमणीय स्थलमा खिचिएको भिडियोलाई छायांकन र सम्पादन मज्जाको राईले गरेका छन् । भिडियोलाई चन्द्र आङछांग्बो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया