कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

जाजरकोट । स्थानीय तहको निर्वाचनको मतपरिणामले कर्णाली प्रदेशमा दलहरूको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कत्तै बढेको पाइएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा पुगेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि विजय हात पारेका छन् ।

नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई भरपुर सदुपयोग गरेको पाइएको छ । डोल्पामा प्रभाव नभएको कांग्रेसले अहिले ठूलीभेरी नगरपालिका जितेको छ । जाजरकोटमा दुई पालिकामा मात्र सीमित कांग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ । अघिल्लो चुनावमा रुकुम पश्चिममा एक पालिका नजितेको कांग्रेसले अहिले दुई पालिकामा जित हात पारेको छ ।

०७४ मा २४ पालिकामा मात्र जितेको कांग्रेसले अहिले ३२ पालिकामा जित हात पारेको छ । रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालिकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व लिन कांग्रेस सफल भएको हो ।

यस प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्षमा २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्षमा २ सय ५३, महिला सदस्यमा २ सय ५३, दलित महिला सदस्यमा २ सय १७, वडा सदस्यमा ४ सय ६८ गरी कुल १ हजार २ सय ५० उम्मेदवार निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले पहिला प्रभाव रहेका पालिकामा अहिले हार बेहोर्नुपरेको छ । जुम्लाको गुठीचौर, जाजरकोटको जुनिचाँदे, रुकुम पश्चिको बाँफीकोट, मुसिकोट लगायतस्थानमा हार बेहोर्नु परेको हो । ०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ ।

उक्त दलले रुकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो । ०७४ सालको निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ ।

उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २० उपाध्यक्ष, २ सय २३ वडाध्यक्ष, २ सय १५ महिला सदस्य, २ सय २२ दलित महिला सदस्य, ४ सय १५ वडासदस्य गरी कुल १ हजार १ सय २३ उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा (एमाले) बाट ६ प्रमुख, नौ अध्यक्ष, आठ उपप्रमुख, १२ उपाध्यक्ष, १ सय ८४ वडाध्यक्ष, १ सय ९१ महिला सदस्य, १ सय ९२ दलित महिला सदस्य, ४ सय ३५ वडासदस्य गरी कुल १ हजार ३७ उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन मतपरिणामअनुसार नेकपा एमालेलाई सबैभन्दा ठूलो क्षति भएको छ ।

०७४ सालको निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । एमालेले कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन तर सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका दुई र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका दुई, मुगु र सल्यानका एक–एक पालिकाको नेतृत्व पाएको छ ।

उक्त दलबाट चार अध्यक्ष, दुई उपप्रमुख, चार उपाध्यक्ष, २९ वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडासदस्य गरी कुल १ सय ७९ उम्मेदवार निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सात वडाध्यक्ष, सात महिला सदस्य, ६ दलित महिला सदस्य, ११ वडासदस्य गरी कुल ३१ उम्मेदवार निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक वडाध्यक्ष, दुई महिला सदस्य, एक दलित महिला सदस्य, वडा सदस्य सात गरी कुल ११ उम्मेदवार निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

०७४ सालको निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा तीन, उपाध्यक्षमा एक, वडाध्यक्षमा २०, महिला सदस्यमा नौ, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी कुल ६८ उम्मेदवार निर्वाचित भएका छन् ।

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७ सय १७, महिला सदस्यमा ७ सय १६, दलित महिला सदस्यमा ६ सय ७७, वडा सदस्यमा १ हजार ४ सय ३३ गरी कुल ३ हजार ७ सय १ उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया