अर्घाखाँचीमा कम जन्मिए छोरी

अर्घाखाँची । अवैधानिक रूपमा लिंग पहिचान गरेर छोरा भए राख्ने, छोरी भए गर्भपतन गराउने कारणले यस जिल्लामा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा १ हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका छोरीको संख्या कम छ । गएको वर्ष अर्थात् ०७७/७८ मा ७ सय ५२ छोरा र ६ सय २१ छोरी जन्मिएका थिए । तथ्यांककै आधारमा पनि छोराभन्दा छोरी कम जन्मिएको देखिन्छ ।

०७६/७७ मा कुल १ हजार ३ सय ४० बच्चा जन्मिएकामा ६ सय २२ छोरी र ७ सय १८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए । जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रूपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ ।
जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४ सय ७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष ०७७/७८ मा ६ सय ५७ र आर्थिक वर्ष ०७६/७७ मा ६ सय ५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ ।

सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगरप्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा तीन हजार रुपैयाँजम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् ।

अवैधानिक रूपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरूको खातामा नगरपालिकाले तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरूको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

सो नगरपालिकामा गत आर्थिक वर्ष ०७७/७८ मा ५ सय ९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २ सय ९१ बालक र २ सय ६७ बालिका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया