आरबी लिपजिग च्याम्पियन

बर्लिन । जर्मन कप फुटबल प्रतियोगिताको उपाधि आरबी लिपजिगले जितेको छ । आरबी लिपजिगले आइतबार विहान खेलिएको फाइनल खेलमा एससी फ्रिबर्गलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

लिपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । क्लब फुटबलको इतिहासमा लिपजिगको यो पहिलो मुख्य उपाधि पनि हो । खेलको निर्धारित र थप समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा लिपजिगका लागि क्रिस्टोफोर एनकुकु, विली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरेका थिए । एससी फ्रिवर्गका लागि भने निल्स पिटर्सन र केभिनले मात्र गोल गर्न सकेका थिए । क्रिस्टियन गुन्टर र इर्मिडिन डेमिरोभिचले गोल गर्न असफल भएका थिए ।

त्यसअघि निर्धारित समयमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलमा अग्रता भने एससी फ्रिबर्गले लिएको थियो । निर्धारित समयको १९औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलले एससी फ्रिबर्गले सुरुआती अग्रता लिएको थियो ।

यसैगरी खेलको ५७औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले रातो कार्ड पाएपछि लिपजिग १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ७६औं मिनेटमा क्रिस्टोफोरले एनकुकुले गोल गर्दै लिपजिगलाई बराबरीमा ल्याएका थिए ।

खेलको अन्तिम समयमा लिपजिग ९ खेलाडीमा समेटिएको थियो । अतिरिक्त समयको ११८औं मिनेटमा लिपजिगका केभिन काम्पल दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सबैभन्दा बढी जर्मन कपको उपाधि जित्ने टोली बायर्न म्युनिख हो । बायर्न म्युनिखले हालसम्म २० पटक जर्मन कपको उपाधि जितेको छ ।

प्रतिक्रिया