माटो अभावले पेसा नै संकटमा

पाल्पा । रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरूको पेसा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । यतिबेला मत माग्दै आँगनमा आएका उम्मेदवारहरूसामु उनी यही दुःखेसो पोख्छन् ।
उनी भन्छन्, ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेसा लोप हुँदै जान थालेको छ । पेसा जगेर्नाका लागि माटोको व्यवस्था हुनुप¥यो । उत्पादन भएका सामानको बिक्री वितरण गर्न उत्तिक्कै गा¥हो छ । उम्मेदवारले हाम्रो माग पूरा गरिदिनुपर्छ ।’

आफूले घरमा बनाएका हाँडी, घैंटा, भुड्का, खुत्रुके, पाला लगायतका माटाका भाँडाकुँडा अझै पनि डोकोमा बोकेर पाल्पा, स्याङ्जाजस्ता जिल्लाका विभिन्न गाउँठाउँमा बिक्री गर्न उनी पुगिरहन्छन् । सामान तयार पार्न चाहिने कच्चा पदार्थ माटो र दाउराकै समस्या मात्र होइन, बजारको पनि समस्या छ ।
पहिलेदेखि नै माटो निकाल्दै आएको ठाउँमा अहिले सडक बनेपछि माटो निकाल्न नपाएको उनकी श्रीमती कखरी कुमालले बताइन् । कुमाल दम्पतीको १० जनाको परिवारको गुजारा यसैबाट चलिआएको छ । बाउबाजेको पालादेखि अपनाइ आएको यो पेसाबाट टाढा रहन उनलाई मन छैन ।

उनले भने, ‘हातमा भएको सीप भनेको माटाका भाँडा बनाउने नै हो । अरू पेसा व्यवसाय छैन । भाँडा बनाएर बिक्री गरेमा दुई÷चार पैसा त हात पर्छ तर, अहिले समस्या छ ।’ माटोकै समस्याले कमै मात्रामा भाँडा तयार पार्ने गरेको बताउँछन्, ७० वर्षीय देवका कुमाल । ग्राहकको माग र रोजाइ अनुसारका सबै प्रकारका भाँडा बनाउने गरिए पनि आवश्यक माटो निकाल्ने ठाउँ नहुँदा व्यवसाय धान्न मुस्किल परिरहेको उनको भनाइ छ ।

त्यसैगरी, आफ्नो घरमा भोट माग्न आउने उम्मेदवारसामु आफूहरूलाई व्यवसाय गर्न सहज बनाइदिन माटो र दाउराको व्यवस्था गरिदिने उम्मेदवारलाई मत हाल्ने बताउँछन्, ६८ वर्षीय मनबहादुर कुमाल । कुमाल गाउँमा सबैका घरघरमा माटोका भाँडा बन्थ्यो, घरका आँगन र पिँढीमा लहरै भाँडा सुकाइन्थ्यो । अहिले भने यहाँका दुई÷चार घरले मात्रै यो पेसा अपनाइ आएका छन् । रामपुर–१० मा तल्लो र माथिल्लो कुमाल गाउँ छन् । यहाँ करिब दुई सय कुमाल परिवार बसोबास गर्दछन् ।

आफ्नो पुख्र्यौली पेसालाई धान्दै आएका ज्येष्ठ सदस्यहरूमा सीप हस्तान्तरणको चिन्ता छ । यो पेसालाई नयाँ पिँढीले अँगाल्न सकेका छैनन् । आफूले भोग चलन गर्दै आएको सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि पेसा संकटमा परेको बताउँछन्, रामपुर नगरपालिका–६ तिलकपुरका युवा सोमबहादुर कुमाल । यहाँको बचाइनी भन्ने स्थानमा सुरक्षा बेस क्याम्प बसेपछि माटो निकाल्न रोक लगाइएको हो ।

तिलकपुर क्षेत्रमा मात्रै कुमाल समुदायको करिव दुई सय परिवार छ । पहिले सबै घरमा माटोको भाँडा बनाउने गरिए पनि अहिले माटो अभावले पेसा छाड्दै जाँदा सोमबहादुर एक्लैले यो व्यवसाय धानिरहेका छन् । यो पेसालाई निरन्तरता दिने चाहना भए पनि माटो पर्याप्त मात्रामा उपलब्ध नहुँदा उहाँलाई निल्नु न ओकल्नु जस्तै भएको छ ।

‘माटो किनेर भाँडा बनाउनुपर्दा मिहिनेत अनुसारको लगानी उठाउन कठिन छ, सहज रूपमा माटो उपलब्ध गराइदिए पेसालाई निरन्तरता दिनेछु, स्थानीय सरकारले परम्परागत पेसालाई निरन्तरता दिन माटोको व्यवस्था गरिदिन प¥यो’, उनले भने ।
आफूले उत्पादन गरेका भाँडा बेझाड बजारका व्यापारीहरूलाई उनी बिक्री गर्छन् । हिन्दू संस्कारअनुसार पूजाआजा, धार्मिक कार्यका लागि माटाका भाँडा नभई नहुने भएकाले कतिपय ग्राहक उनको घरैमा पुग्ने गर्छन् ।

रामपुर नगरपालिकाको गेझा, तिलकपुर, भलायटार क्षेत्रमा कुमाल समुदायको बाक्लो वस्ती छ । वर्षौंदेखि गर्दै आएको यो पेसा संकटमा पर्न थालेपछि कतिपय कुमालहरू ज्याला मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुके लगायतका घरायसी उपयोगका भाँडा बनाउने माटाको सट्टा प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा व्यवसाय लोप हुने भय बढेको भन्दै बुढापाकाहरू चिन्ता व्यक्त गर्छन् ।

माटोको भाँडा बनाउन चिम्ट्याइलो माटो आवश्यक पर्छ । यस्तो माटो सबैतिर पाइँदैन । तीन थरीको माटो मिसाएर खुट्टाले मुछ्नुपर्छ । अहिले माटो मुछ्न मेसिन प्रयोग गर्ने गरिए पनि गाउँघरमा मेसिनको प्रयोग छैन । ग्राहकले कस्तो आकारको भाँडा खोजेको छ सोहीअनुसार हातले आकार दिने हो । राम्रो आकार दिन सकिए छिटो खपत हुन्छ । तयार पारिएको भाँडालाई घाममा सुकाउने, रङ लगाउने, भट्टीमा हालेर पोल्ने गरिन्छ । भट्टीमा हालेपछि भाँडा तयार हुन कम्तीमा पनि १० दिनको समय लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहा लगायतका स्थानमा बसोबास गर्दैआएका कुमाल जातिले माटाका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गर्दैै आए पनि अहिले पेसा नै लोप संघारमा पुगेको छ ।

प्रतिक्रिया