पत्रकारले तटस्थ भूमिका प्रदर्शन गर्नुपर्छ

दमौली । नेपाल पत्रकार महासंका अध्यक्ष विपुल पोखरेलले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शनिबार आयोजना गरेको आचारसंहिता पालना विषयक अन्तरक्रियामा बोल्दै उनले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अध्यक्ष पोखरेलले लोकतन्त्रलाई सही ढंगबाट अगाडि बढाउन निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारले आवाज बुलन्द गर्नुपर्ने बताए । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उनले भने, ‘पत्रकारले कुनै पार्टीको प्रचारप्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।’

अध्यक्ष पोखरेलले नेपाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । ‘पत्रकारको आफ्नै पनि आचारसंहिता छ, आचारसंहिता पालनाले पत्रकारलाई चरित्रवान बनाउँछ,’ उनले भने ।

निर्वाचनका बेला सरकार र निर्वाचन आयोगको भूमिका, राजनीतिक दल र उम्मेदवारको एजेण्डा, मतदाताको सुरक्षा लगायतका विषयलाई पत्रकारले सुक्ष्म रुपमा अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न पत्रकारले कलम चलाउनुपर्ने उनको धारणा छ ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगनाले स्वतन्त्र र भयरहित निर्वाचनको प्राणवायु आचारसंहिता भएको उल्लेख गरेका छन् । आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै उनले सबैले आचारसंहिता पालना गर्नुपर्ने बताए । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा उनले जोड दिए । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारले यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले सूचना प्रवाह गर्ने काममा प्रतिबद्ध रहेको बताएका छन् ।

यस्तै कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्ज्वल पौडेललगायतले पत्रकार आचारसंहिताका विषयमा धारणा राखेका थिए । बोल्ने सबैले निर्वाचन स्वतन्त्र र निष्पक्ष होस भन्नेमा जोड दिए ।

प्रतिक्रिया