षोडस लास्य र बज्रसत्व चर्या

नृत्य प्रशिक्षण

ललितपुर । नेपालको परम्परागत मौलिक नृत्यसम्बन्धी १० दिने प्रशिक्षणात्मक कार्यशाला सम्पन्न भएको छ । नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाको आयोजनामा लोटस रिसर्च सेन्टर ख्वायवहिलमा शास्त्रीय चर्या नृत्यअन्तर्गत षोडस लास्य र बज्रसत्व चर्या नृत्यको कार्यशाला एवं गोष्ठी भएको हो । बिहीबार सम्पन्न भएको प्रशिक्षणात्मक कार्यशालामा नृत्यगुरु पद्मराज बज्राचार्य (माइला गुरुज्यु) ले प्रमुख प्रशिक्षक थिए ।


‘नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ गरिएको कार्यशालाको समापन समारोहमा बोल्दै पद्मराजले प्रशिक्षण कार्यक्रमबाट आफूले नयाँ कुरा सिकेको र नयाँ अनुभव गरेको सुनाए । उनले भने, ‘सिक्नेले पनि राम्रो सिके भन्ने लागेको छ । फेरि मलाई सिकाउने मौका आयो भने सिकाउँछु ।’


प्राज्ञ, नृत्य निर्देशक संघ ललितपुर शाखाकी सल्लाहकार तथा नृत्य निर्देशक नारायणदेवी प्रधानले थोरै समयमा नृत्य सिकेका विद्यार्थीको प्रशंसासमेत गरिन् । उनले भनिन्, ‘यत्तिका दिनमा चर्या सिक्ने भनेको ठूलो कुरा हो । यो व्यवस्था मिलाउने ललितपुर शाखालाई धन्यवाद ।’ उनले शाखाले कहिले चर्या, कहिले लोक लगायतका अन्य विभिन्न विधामा नृत्य प्रशिक्षण राख्दा अझ राम्रो हुने बताइन् । तेस्रोपटक आयोजना गरिएको कार्यक्रम गुरु बन्दनाबाट सुरु गरिएको थियो । जसमा सुरज थापा, आर्या महर्जन र सम्झना थुसाले नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि आशिका श्रेष्ठ, सीता सुवेदी, रञ्जना सितिखु, आशिष राई, समीर शंखदेव प्रजापति लगायतका प्रशिक्षार्थीले षोडस नृत्य तथा बज्रसत्व चर्या भने सनिरा महर्जनले प्रस्तुत गरिन् ।


कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले कार्यशाला पुस्ता हस्तान्तरणको माध्यम भएको सुनाए । उनले भने, ‘कार्यशाला गोष्ठी यत्ति महत्वपूर्ण छ जुन कुरा अग्रज पुस्ताबाट नयाँ पुस्तालाई आफूले जानेको कुरा हस्तान्तरण गर्ने अवसर हो । यसलाई तपाईहरुले बारम्बार प्रयास गर्नुस् ।’ सो कार्यक्रममा प्रशिक्षक माइला गुरु र सहायक प्रशिक्षक आसना बज्राचार्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठसहित नृत्य निर्देशक संघका काठमाडौं, भक्तपुर जिल्ला शाखा र चन्द्रागिरी कमिटी, तारकेश्वर कमिटीका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने मिनर्वा शर्मा राजोपाध्यायले गरेकी थिइन् ।

प्रतिक्रिया