प्रमुख दलबाट प्रमुख पदमा महिला र दलित न्यून

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलालीमा रहेका ठूला राजनीतिक दलहरूले प्रमुख पदमा महिला र दलितलाई न्यून संख्यामा उम्मेदवार बनाएका छन् । कैलालीमा रहेका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले प्रमुख पदमा नगण्य संख्यामा महिला र दलित उम्मेदवार बनाएका हुन् ।


कैलालीमा नेपाली कांग्रेसले एक र नेकपा एमालेले एक गरी दुई जना महिलालाई मात्र प्रमुख पदको उम्मेदवार बनाएका छन् । गठबन्धनको भागबण्डामा कैलालीका १३ वटा स्थानीय तहमध्ये सात स्थानीय तहमा प्रमुख पाएको कांगे्रसले लम्कीचुहा नगरपालिकामा सुशीला शाहीलाई नगरप्रमुखको उम्मेदवार बनाएको हो भने १३ वटै स्थानीय तहमा एकल उम्मेदवारी दिएको नेकपा एमालेले कैलारी गाउँपालिकामा झुमादेवी चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।


गठबन्धनको भागबण्डामा चार वटा स्थानीय तहको प्रमुख पाएको नेकपा (माओवादी केन्द्र) र दुई वटा स्थानीय तहको प्रमुख पाएको नेकपा (एकीकृत समाजवादी)ले भने प्रमुख पदमा पुरुष नै उम्मेदवार बनाएको छ । नेकपा एमालेले १२ वटा स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष महिला उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले ६ वटा स्थानीय तहमा मात्रै उपप्रमुख÷उपाध्यक्षमा महिला उम्मेदवार बनाएको छ ।


गठबन्धनको भागबन्डामा ६ उपप्रमुख/उपाध्यक्ष पाएको कांग्रेसले तीन स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षका महिला उम्मेदवार बनाएको हो । कांग्रेसले घोडाघोडी नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा गुलियादेवी चौधरी, चुरे गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार धना थापा र कैलारी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारमा भगवतीकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । ६ वटा स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष पाएको माओवादी केन्द्रले दुई स्थानीय तहमा उपप्रमुख महिला उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवारमा शान्ति अधिकारी क्षेत्री र लम्कीचुहा नगरपालिकाको उपप्रमुखको उम्मेदवार जानकी सिंहलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीको एक मात्र उपप्रमुख भाग परेको गोदावरी नगरपलिकाको उपप्रमुखमा रत्ना कडायतलाई उम्मेदवार बनाएको छ ।


कैलालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तीन दलिय चुनावी गठबन्धन रहेको छ ।
कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये ठूला राजनीतिक दलबाट प्रमुख पदमा एकमात्रै दलित उम्मेदवार बनेका छन् । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार नृपबहादुर वड कैलालीमा प्रमुख पदका एक मात्रै दलित उम्मेदवार हुन् । वड नेपाली कांगेसबाट सत्ता गठबन्धनका नगरप्रमुखका साझा उम्मेदवार हुन् । वडले ०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा जितेका थिए । उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन । नेपाली कांग्रेस बाहेकका अरू ठूला दलले भने प्रमुख पदमा दलित उम्मेदवार बनाएका छैनन् । नेकपा एमालेले जोशीपुर गाउँपालिकामा उपाध्यक्षमा दलित महिला रमादेवी भुललाई उम्मेदवार बनाएको छ । उनीबाहेक अन्य ठूलादलले उपप्रमुख÷उपाध्यक्षमा पनि दलित उम्मेदवार बनाएका छैनन् ।

प्रतिक्रिया