ठूला राजनीतिक दलबाट प्रमुख पदमा महिला र दलित उम्मेदवार न्यून

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलालीमा रहेका ठूला राजनीतिक दलहरुले प्रमुख पदमा महिला र दलितलाई न्यून संख्यामा उम्मेदवार बनाएका छन् । कैलालीमा रहेका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रमुख पदमा नगण्य संख्यामा महिला र दलित उम्मेदवार बनाएका हुन् ।

कैलालीमा नेपाली कांग्रेसले एक र नेकपा एमालेले एक गरी दुई जना महिलालाई मात्र प्रमुख पदको उम्मेदवार बनाएका छन् । गठबन्धनको भागबण्डामा कैलालीका १३ वटा स्थानीय तहमध्ये ७ स्थानीय तहमा प्रमुख पाएको कांगे्रसले लम्कीचुहा नगरपालिकामा सुशीला शाहीलाई नगरप्रमुखको उम्मेदवार बनाएको हो भने १३ वटै स्थानीय तहमा एकल उम्मेदवारी दिएको नेकपा एमालेले कैलारी गाउँपालिकामा झुमादेवी चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

गठबन्धनको भागबण्डामा ४ वटा स्थानीय तहको प्रमुख पाएको नेकपा (माओवादी केन्द्र) र २ वटा स्थानीय तहको प्रमुख पाएको नेकपा (एकीकृत समाजवादी) ले भने प्रमुख पदमा पुरुष नै उम्मेदवार बनाएको छ । नेकपा एमालेले १२ वटा स्थानीय तहमा उपप्रमुख–उपाध्यक्ष महिला उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले ६ वटा स्थानीय तहमा मात्रै उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाएको छ ।

गठबन्धनको भागबण्डामा ६ उपप्रमुख–उपाध्यक्ष पाएको कांग्रेसले ३ स्थानीय तहमा उपप्रमुख–उपाध्यक्षका महिला उम्मेदवार बनाएको हो । कांग्रेसले घोडाघोडी नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा गुलिया देवी चौधरी,चुरे गाउँपलिकाको उपाध्यक्षको उम्मेदवार धना थापा र कैलारी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारमा भगवती कुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।

६ वटा स्थानीय तहमा उपप्रमुख–उपाध्यक्ष पाएको माओवादी केन्द्रले २ स्थानीय तहमा उपप्रमुख महिला उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवारमा शान्ति अधिकारी क्षेत्री र लम्कीचुहा नगरपालिकाको उपप्रमुखको उम्मेदवार जानकी सिंहलाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीको एकमात्र उपप्रमुख भाग परेको गोदावरी नगरपलिकाको उपप्रमुखमा रत्ना कडायतलाई उम्मेदवार बनाएको छ । कैलालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तीन दलिय चुनावी गठबन्धन रहेको छ ।

प्रमुख पदमा एक मात्र दलित उम्मेदवार कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये ठूला राजनीतिक दलबाट प्रमुख पदमा एकमात्रै दलित उम्मेदवार बनेका छन् । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार नृपबहादुर वड कैलालीमा प्रमुख पदका एकमात्रै दलित उम्मेदवार हुन ।

वड नेपाली कांगेसबाट सत्ता गठबन्धनका नगरप्रमुखका साझा उम्मेदवार हुन । वडले २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा जितेका थिए । उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

नेपाली कांग्रेस बाहेकका अरु ठुला दलले भने प्रमुख पदमा दलित उम्मेदवार बनाएका छैनन् । नेकपा एमालेले जोशीपुर गाउँपालिकामा उपाध्यक्षमा दलित महिला रमादेवी भुललाई उम्मेदवार बनाएको छ । उनी बाहेक अन्य ठूलादलले उपप्रमुखउपाध्यक्षमा पनि दलित उम्मेदवार बनाएका छैनन् ।

प्रतिक्रिया