जुम्लामा टुट्यो सत्ता गठबन्धन, दलहरू एक्लाएक्लै चुनावमा जाने

जुम्ला । जुम्लामा गठबन्धन हुन नसकेपछि दलहरू आसन्न स्थानीय तह निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जुम्लामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल नहुने भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएका हुन् ।

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए ।

तर, सबै दलले आ–आफ्नो अडान कायम राखेपछि सहमति नभएको माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताए । उनका अनुसार प्रदेश गठबन्धनको निर्णय एकीकृत समाजवादीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो ।

कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको उनले बताए । एकीकृत समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाका अनुसार समाजवादीको मागलाई बेवास्ता गरिएपछि गठबन्धन टुटेको हो ।

‘गठबन्धनमा तिला र सिंजा गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई छुट्याइयो, तर हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ । उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भयो,’ उनले भने । कांग्रेस पूर्वसभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा गठवन्धन टुटेको बताए ।– न्युज कारखाना

प्रतिक्रिया