चार महानगरमा राप्रपाका उमेदवारकाे टुंगो लाग्याे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६ मध्ये चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार टुंगो लगाएको छ । राप्रपाबाट काठमाडौं महानगरको मेयर पदमा कलाकार मदनदास श्रेष्ठ, ललितपुरको मेयरमा अष्ट महर्जनले उमेदवारी दिनेछन् । यस्तै, वीरगन्ज महानगरको मेयरमा पत्रकार गिरिश गिरी र पोखरा महानगरमा शंकर खराल मेयर पदको उमेदवार रहनेछन् ।

उपप्रमुखतर्फ काठमाडौंमा विनीता मगैया, ललितपुरमा स्वर्णिमा शाक्य, वीरगन्जमा बीना जयसवाल र पोखरामा रञ्जना सेन उमेदवार रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बाँकी दुई महानगरका उमेदवार आजै अबेरसम्म टुंगो लगाइने उनले बताए ।

दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।

प्रतिक्रिया