काठमाडौं । लामो समयपछि काठमाडौंबासीको तिर्खा मेट्ने अपेक्षा गरिएको मेलम्ची खानेपानी आयोजना स्थायी रुपमा धारामा पानी झर्ने अझै अन्योल छ । तर मेलम्चीको धारा भन्दा बढि यसमा राजनीति बग्न थालेको छ। यही प्रबाहमा मंगलबार फेरि प्रधानमन्त्री शेरबहादुर देउवा पर्ने तयारी भएको थियो । उनले मंगलबार फेरि मेलम्चीको मुहानमा गएर उद्घाटन गर्ने कार्यक्रम थियो। तर निर्वाचन आचारसंहिताका कारण सो कार्यक्रम स्थगित भएको स्रोतले बतायो ।
अन्तिम पटक २०७७ चैत २० मा काठमाडौंको भृकुटीमण्डपको धारामा पानी खसालेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेकी थिईन् । राष्ट्रपति भण्डारीले मेलम्चीको धारा उद्घाटन गरेको भोलिपल्ट प्रधानमन्त्री केपी ओली सञ्चारमाध्यममाथि खनिएका थिए। एक महिनाको बीच ओली नेतृत्वको सरकारले मेलम्ची आयोजनाको तीन पटक उद्घाटन गरिसकेको थियो ।
२०७७ फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा मेलम्ची पुगेर उद्घाटन गरेका थिए । त्यो उद्घाटन काठमाडौंबाट सञ्चारकर्मी टोली नै लगिएको थियो । त्यस दिन मन्त्री थापाले उद्घाटन गरेपछि सुरुङबाट काठमाडौंतिर पानी पठाउन थालिएको थियो । १० फागुनमा खानेपानीमन्त्री थापाले सिन्धुपाल्चोक पुगेर उद्घाटन गरेको मेलम्चीको पानी २६ किमी सुरुङ भरिएर जब काठमाडौं आइपुग्यो, अनि प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फेरि उद्घाटन गरका थिए । सोही बर्षको २२ फागुनमा सुन्दरीजलमा भव्य कार्यक्रम गरेर उद्घाटन गरिएको थियो ।
आयोजनाको चर्चा भएको तीन दशक र शुभारम्भको दुई दशकपछि बल्लतल्ल काठमाडौंका झण्डै ५० हजार धाराबाट मेलम्चीको पानी झरेको थियो । काठमाडौंका धारामा पानी झरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको भृकुटीमण्डपस्थित निर्माणाधीन धाराबाट औपचारिक उद्घाटन गरेपछि मेलम्चीको पानी वितरण थालेको घोषणा गरिएको थियो । तर गएको असार १ गते मेलम्चीको मुहानमा आएको बढि पहिरोका कारण मेलम्चीको पानी अवरुद्ध भएको थियो । अहिलेको संचालन पनि अस्थायी रुपमा मात्र भएको मेलम्ची खानेपानी आयोजनाले दावी गर्दै आएको छ ।
प्रतिक्रिया