चुनावी तालमेल सहज बनाउन सत्तारुढ गठबन्धनको अपिल

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई अपिल गरेको छ । आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै यस्तो अपील गरेका हो । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।

पाँच दलले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन् । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ पाँच दलका नेताद्धारा जारी अपिलमा भनिएको छ, ‘त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।’

त्यस्तो परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरेको नेताहरूको भनाइ । ‘परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलिय गठबन्धन बनेको हो । पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं,’ अपिलमार्फत् नेताहरूले भनेका छन् । गठबन्धनले १७ चैतको बैठकमै आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया