काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीले शनिबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजान गरिएको सो सभामा एकीकृत समाजवादीका शिर्ष नेताहरुले बोल्ने कार्यक्रम छ ।
मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कामका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे पनि उक्त सभामा जानकारी दिइने भएको छ । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ ।
उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष कुशमकुमार कार्कीका अनुसार अहिलेसम्म तीन केन्द्रीय वक्ताको टुंगो लागेको छ । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, सवित्रा भुसाल लगायतले बोल्ने कार्यक्रम रहेको सौर्य अनलाइनलाई जानकारी दिए ।
धेरै शिर्ष नेता मञ्चमा राखेर लामो र भद्धा कार्यक्रम नगर्ने उदेश्यले थोरै वक्ता राखिएको उनले बताए । जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौं जिला कमिटी अध्यक्ष कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौंमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनमा काठमाडौका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिए । जिल्ला तका सबै संघीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।
पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ । अध्यक्ष कार्कीका अनुसार बिहान ११ बजे भृकुटीमण्डपबाट सो पार्टीको मोटरसाईकल र्याली हुने छ भने विभिन्न शहरको विभिन्न भागको परिक्रमा पछि दिउँसो १ बजे सभा सुरु हुने छ ।
प्रतिक्रिया