निर्वाचन आयोगलाई गल्ती सच्याउन एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर बिहीबार ध्यानाकर्षण गराएका हुन् ।

आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र ति त्रुटि सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामी आचारसंहिता पालना गर्छौँ, त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो, त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौँ’, महासचिव पोखरेलले भने ।

एमालेले निर्वाचन प्रचारप्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलको भनाइ छ ।

एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार प्रसार गर्न नपाउने, जनप्रतिनिधिहरूले पनि प्रचार गर्न पाउने लगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया