मिस नेवाः मा १९ प्रतिस्पर्धी

काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा हुन लागेको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी १८ वैशाखमा हुने भएको छ । १६औं संस्करणको उक्त प्रतिस्पर्धा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । नेवार समुदायका युवतीबीच हुने प्रतिस्पर्धामा बिजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रिल महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ जना सहभागी छन् । मिस नेवाः नेपालको विजेताले ताजका साथ पुरस्कार स्वरूप एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । उनका अनुसार मिस नेवाः नेपाल नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका लागि १५ वर्षदेखि हुँदै आएको छ । मानन्धरले भनिन्, ‘नेवार समुदायको कला, संस्कृति, भाषार रहनसहन, भेषभूषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि डेढ दशकदेखि प्रतियोगिता आयोजना गर्दै आएका छौं ।’

उनले युवतीको आत्मविश्वास बढाउन र आफ्नो मौलिक संस्कृतिप्रति प्रेम जगाउन प्रतिस्पर्धाले सघाउने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘आत्मविश्वास र व्यक्तित्व विकास त जसले पनि सिकाउँछ । हामीचाहिँ नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपिदेखि भाषा र पहिरनसम्म गरी नेवार कला, संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ । त्यसैले, मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा एक हिसाबले एक दिनमात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तिमा २ महिनाको कार्यक्रम हुन्छ ।’ यसैक्रममा शनिबार अन्तिम स्पर्धामा सामेल नेवार युवतीले वसन्तपुरस्थित कुमारी मन्दिरमा लाखबत्ती बालेर विश्व शान्ति तथा देशमा शान्ति र अमनचयनको कामना गरेका छन् ।

मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृतिक सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रापर्व, लवाइखुवाइका बारेमा नयाँ पिँढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रूपमा पाएको अनुभव सुनाइन् । आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, बेस्ट ड्रेस, मिस फोटोजेनिक, बेस्ट स्माइल, बेस्ट हेयर, मिस पब्लिक च्वाइस, मिस डिसिप्लेन, मिस फ्रेण्डसिप, मिस पर्सनालिटी, मिस चार्मिङ र बेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ । प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया