काठमाडौं । केही शीर्ष नेताहरुको विरोधका बावजुद नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गर्ने निर्णय गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । गत शुक्रबार सुरु भएको बैठकमा ‘चुनावी गठबन्धन’कै विषयलाई लिएर सबैभन्दा बढी चर्काचर्की परेको थियो । अन्ततः बैठकले आगामी निर्वाचनमा अवस्था र आवश्यक्ता अनुसार अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानी तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । पार्टी केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा गरेको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले बताए ।
गठबन्धनमा रहेका दलहरुको क्षमताका आधारमा तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो । बैठकमा शीर्ष नेताहरुले चुनावी तालमेलको विषयलाई लिएर फरक÷फरक मत राख्दै आएका थिए । सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच चुनावी तालमेल हुनुपर्नेमा पहिलेदेखि नै स्पष्ट देखिएका थिए ।
उनले अहिलेको स्थितिमा चुनावी गठबन्धन कांग्रेसकै लागि पनि आवश्यक रहेको धारणा ब्यक्त गर्दै आएका छन् । कांग्रेसका दुई महामन्त्रीले भने बैठकमा तालमेलको विषयलाई लिएर फरक÷फरक विचार राखेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचनमा आवश्यक्ताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने पक्षमा थिए । शर्माले हरेक स्थानीय तहमा सबै दलको हैंसियत समान नहुने भन्दै आवश्यक्ताका आधारमा चुनावी तालमेल आवश्यक रहेको बताएका थिए । अर्का महामन्त्री गगन थापा भने चुनावी गठबन्धनको विपक्षमा देखिएका थिए । उनले निर्वाचनमा कांग्रेस एक्लैले अगाडि बढ्ने आँट गर्नुपर्ने धारणा राखेका थिए । चुनावी गठबन्धनको निर्णय गर्नुअघि थपिएका नयाँ मतदाताको मनस्थितिलाई पनि ध्यानमा दिनुपर्ने उनको तर्क थियो ।
नेता डा. शेखर कोइराला पनि चुनावी गठबन्धनको विपक्षमा उभिएका थिए । खासगरी चितवनका नेता÷कार्यकर्ता तालमेलको विपक्षमा देखिएका छन् । बैठकले गत फागुन ३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यसैगरी कांग्रेसले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशनको समय नजिकिएपछि मात्र सदस्यता वितरण गर्दा विवाद हुने गरेको भन्दै कांग्रेसले यस वर्ष अहिले नै सदस्यता वितरण गर्न लागेको प्रवक्ता डा. महतले बताए ।
निर्वाचन परिचालन समिति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार सम्पन्न बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । निर्वाचन परिचालन समितिको संयोजक उपसभापति पूर्णबहादुर खड्कालाई बनाइएको छ । पार्टी सभापति देउवाले आवश्यक परामर्श गरी उक्त समितिलाई पूर्णता दिने बताइएको छ । ‘उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नुहुनेछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसैगरी केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त समितिलाई पनि सभापतिले परामर्श गरी पूर्णता प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया