काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन् । गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
फागूपूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरू समेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो । त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको थियो । ‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’
गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । त्यस्तै, उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । गृहमन्त्री खाणले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घटनामा २९ प्रहरी घाइते भएका थिए । तीमध्ये अहिलेसम्म पाँच प्रहरी कोशी अस्पतालमा उपचाररत् रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
प्रतिक्रिया