अस्ट्रेलियन ओपन टेनिस : बार्टी र कोलिन्स फाइनलमा

मेलबर्न । अस्ट्रेलियन खेलाडी आस्लिघ बार्टी र अमेरिकी खेलाडी ड्यानिल कोलिन्स आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ को महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो वरीयतामा आसिन बार्टीले बिहीबार खेलिएको सेमिफाइनल खेलमा अमेरिकी खेलाडी म्याडिसन किजलाई सोझो सेटमा पराजित गरिन् । बार्टीले नतिजालाई क्रमशः ६–१ र ६–३ समेटले आफ्नो पक्षमा पारेकी हुन् ।

सन् १९८० पछि अस्ट्रेलियन ओपनको महिला एकलतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो अस्ट्रेलियन खेलाडी पनि बनेकी छन् । २५ वर्षीय बार्टीले हालसम्म अस्ट्रेलियन ओपनको उपाधि जित्न सकेकी छैनन् ।

बार्टीले ग्रान्डस्लाम प्रतियोगिताको उपाधि भने दुईपटक चुमिसकेकी छन् । उनले सन् २०१९ मा पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । सन् २०२१ मा भने उनले अर्को ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि चुमेकी थिइन् ।

यूएस ओपनमा भने उनी हालसम्म चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । उनी सन् २०१८ र सन् २०१९ मा यूएस ओपनको चौथो चरणमा पुगेकी थिइन् । ‘अस्ट्रेलियन ओपनको फाइनलमा पुग्नु मेरा लागि निकै ठूलो उपलब्धि हो । अब म उपाधिका लागि सक्दो प्रयास गर्नेछु’, बार्टीले भनेकी छन् ।

यसैगरी २७औं वरीयतामा आसिन अमेरिकी खेलाडी कोलिन्स भने ईगा स्विटेकलाई ६—४, ६—१ अंकले हराउँदै फाइनलमा पुगेकी हुन् । स्विटेक सातौं वरीयताप्राप्त खेलाडी हुन् । २८ वर्षीया कोलिन्स पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् ।

कोलिन्सले हालसम्म कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्न सकेकी छैनन् । उनी सन् २०२० मा फ्रेन्च ओपनको क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । सन् २०१९ मा विम्बल्डनको तेस्रो चरणसम्म पुगेकी कोलिन्स सन् २०२१ मा यूएस ओपनको तेस्रो चरणमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया