यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक्न निर्देशन

काठमाडौ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्न उनले निर्देशन दिएका हुन । उनले यातायात सेवालाई चुस्त दुरूस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउनुपर्ने भएकोले मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने जिकिर गरे ।

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने बताएका थिए । उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला बडालाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने उनको भनाई थियो ।
मन्त्री दाहालले सेवालाई कसरी चुस्त दुरूस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्नेमा जोड दिएका छन । पहिले ढड्डामा राख्ने प्रणालीले कतिपय ठाउँमा असजिलो भए पनि त्यसलाई पनि हल गर्नुपर्ने र अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीको अभाव भएपनि त्यसलाई पनि समाधान गर्नुपर्ने उनको भनाई थियो ।

मन्त्री दाहालले भने,‘बिचौलियालाई रोक्नको लागि कार्यालयलाई कडा निर्देशन गरेका छौं । पत्रकारहरूले पनि बेला बेलामा आएर बिचौलियाहरूको बारेमा एक्सपोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ। त्यो हुँदा कतिपय डुब्लिकेसनलाई पनि रोक्न सक्छौं ।’ उनले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया