आहारारा गोल्डकप : संकटालाई हराउदैं मच्छिन्द्र सेमिफाइनलमा

पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४–१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १-१ गोल गरेका थिए ।
खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै अग्रता लिएको थियो । मच्छिन्द्रको तर्फबाट खेलको १२ औं मिनेटमै उत्सव राईले पहिलो गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सभन्दा बाहिरबाट लङ रेञ्जमा प्रहार गरेको बल डिफेन्डिङ च्याम्पियन संकटाका गोलरक्षकले बचाउन सकेनन् ।

पहिलो हाफमा १–० ले अग्रता कायम गरेको मच्छिन्द्रलाई संकटाले गोल फर्काउन भरपूर प्रयास गरे पनि सफल हुन सकेन । दोस्रो हाफको शुरू मिनेटमै दोस्रो गोल खान पुगेपछि झनै दबाबमा पुगेको थियो । टिमका लागि दोस्रो गोल मेसुके एटिजिन ओलामाउले गरेका हुन् । उनले ४६औं मिनेटमा अभिषेक रिजालको पासमा ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

नाथनियल जुड ग्रासियाको लामो पासलाई रिजालले विपक्षीको एरियामा अनसाइड कभर गर्न पुगे । सोही बलको पासमा गोल गर्दै ओलामाउले अग्रतालाई दोब्बर बनाएका हुन् । गोल फर्काउन प्रयासरत रहेको डिफेन्डिङ च्याम्पियन संकटाका गणेश हमालले टिमका लागि पहिलो गोल गरेका थिए । ६२ औं मिनेटमा कर्नर अवसर पाएको संकटाले सोही अवसर सदुपयोग गरेको थियो । अमित तामाङले प्रहार गरेको कर्नर बललाई निरज बस्नेतले हेडिङमार्फत् असिस्ट गर्दै हमालले सान्त्वना गोल प्रहार गरेका हुन् ।

तर, खेलको ८४ औं मिनेटमै मच्छिन्द्रको अर्को गोल थप्यो । फ्रिकिकको अवसर पाएको मच्छिन्द्रले सो अवसर पनि सदुपयोग ग¥यो । डिबक्स नजिकैबाट ओमालाजा करिमले प्रहार गरेको फ्रिकिक संकटाका गोल रक्षकको हातमा पुगे पनि नियन्त्रण गर्न सकेनन्, सोही मौकाको फाइदा उठाउँदै अभिषेक गुरुङले टिमका लागि तेस्रो गोल गरे । लगत्तै मच्छिन्द्रकै लागि मेसुके एटिजिन ओलामाउले चौंथो गोल गरेका थिए । उनले खेलको ८५ औं मिनेटमा नाथिनिय गार्सियाको लङ पासमा ड्रिबलिङ गर्दै सुन्दर फिनिसिङ गरे थिए ।

प्रतिक्रिया