ब्रिटिस महारानीको वार्षिक खर्च !

ब्रिटेनको राजपरिवारले अगिल्लो वर्ष ब्रिटेनकी महारानीले कति रकम कहाँकहाँबाट प्राप्त गरिन् र के के मा खर्च गरिन् भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो । महारानीले कति रकम पाइन् र कहाँ कहाँबाट पाइन् ? भन्नेबारेमा सो रिपोर्टमा सार्वजनिक गरिएको थियो । त्यसले पनि त्यहाँको महारानीको खर्चको बारेमा प्रष्ट्याउँछ । ‘सोभरिन ग्र्यान्ट’ शीर्षकमा ब्रिटिस सरकारले महारानीलाई हरेक वर्ष निश्चित रकम उपलब्ध गराउँछ । सोभरिन ग्र्यान्टअन्तर्गत गत वर्ष उनलाई ८ करोड ५९ लाख पाउन्ड दिइएको थियो त्यो भनेको युकेका हरेक व्यक्तिका भागमा १ दशमलव २९ पाउन्ड पर्न आउँछ ।
त्यो रकम महारानी र राजपरिवारका अन्य सदस्यले औपचारिक राजकीय भूमिका निर्वाह गर्दा हुने खर्चमा प्रयोग गर्छन् । त्यसैले नै विभिन्न दरबारको हेरचाह र व्यवस्थापनको खर्च पनि धान्छ । गत वर्ष औपचारिक गतिविधिहरूमा ५ करोड १५ लाख पाउण्ड खर्च भएको थियो त्यसमा कर्मचारीहरूको पारिश्रमिक र यात्रा तथा सम्पत्ति रेखदेखमा लागेको खर्च पनि समावेश छ ।

बाँकी ३ करोड ४४ लाख पाउन्ड बकिंघम प्यालेसमा भइरहेको मर्मत सम्भार र साजसज्जाको काममा खर्च भएको थियो । महारानीलाई उपलब्ध गराइने ‘सोभरिन ग्र्यान्ट’ ‘द क्राउन इस्टेट’ भनिने महारानीको स्वामित्वमा रहेको तर स्वतन्त्र रूपमा सञ्चालित दरबार, भवन, खेत, बगैँचाजस्ता अचल सम्पत्तिको व्यावसायिक उपयोगबाट प्राप्त नाफामा आधारित हुन्छ ।
क्राउन इस्टेटमा लन्डनको प्रसिद्ध व्यापारिक केन्द्र रिजन्ट स्ट्रिट र बर्कशायरस्थित घोडादौड हुने अर्को प्रसिद्ध खेलमैदान एस्कट पनि पर्दछन् । द क्राउन इस्टेट एउटा व्यवस्थापकीय बोर्डले नियन्त्रण गर्छ, जसको मुख्य जिम्मेवारी ‘राज्यको वित्तीय कोषलाई फाइदा पु¥याउन लागि’, उक्त सम्पत्तिको हेरचाह गर्नु र मूल्य वृद्धि गर्नु हो ।

क्राउन इस्टेट महारानीको निजी सम्पत्ति होइन, यो गद्दीमा रहेको राजा वा रानीको शासनकालमा उनीहरूको मातहतमा मात्र रहन्छ । त्यसको अर्थ महारानीले द क्राउन इस्टेट बिक्री गर्न पाउँदिनन् र त्यसबाट प्राप्त हुने कमाइ पनि आफूले राख्न पाउँदिनन् । द क्राउन इस्टेट प्रारम्भमा राजाको स्वामित्वमा रहेको जग्गाजमिनको नाम थियो, र यो ‘नोरमन कंङ्वेस्ट’ भनिने नोरमनहरूले लडाइँ जितेर राज्य स्थापना गरेको समयदेखि चलेको व्यवस्था हो । एस्कट रेसकोर्स द क्राउन इस्टेटको स्वामित्वमा छ ।

सन् १७६० मा राजा जर्ज तृतीयले क्राउन इस्टेटबाट प्राप्त आम्दानी समर्पण गर्ने गरी तत्कालीन सरकारसँग गर्ने सहमति गरेका थिए । त्यसको बदलामा राजा र उनका उत्तराधिकारीले हरेक वर्ष निश्चित रकम प्राप्त गर्ने सहमति भएको थियो । त्यसलाई सुरुमा ‘द सिभिल लिस्ट’ भनिन्थ्यो । सन् २०१० मा सिभिल लिस्टलाई विस्थापन गरेर त्यसको नाम सोभरिन ग्र्यान्ट बनाइएको थियो । सामान्यतः महारानीले क्राउन इस्टेटले गत दुई वर्षमा हासिल गरेको नाफाको १५ प्रतिशत प्राप्त गर्छिन् ।
तर सन् २०१७ देखि १० वर्षसम्म उनले २५ प्रतिशत पाउने गरी सहमति गरिएको छ । यो ३६ करोड ९० लाख लाग्ने अनुमान गरिएको बकिंघम प्यालेसको मर्मत सम्भार र साजसज्जा गर्न सहयोग पुगोस् भनेर गरिएको छ ।

सोभरिन ग्र्यान्टको रकम खर्च भएन भने त्यो जगेडामा जान्छ । गत वर्ष २३ लाख पाउन्ड जगेडाबाट निकालेर बकिंघम दरबारको पुनर्निर्माणमा लगाइएको थियो । यदि क्राउन इस्टेटको नाफा घट्यो भने पनि महारानीले अघिल्लो वर्ष पाए जति नै रकम पाउँछिन् । त्यसको अर्थ उनलाई क्राउन स्टेटको नाफाको २५ प्रतिशतभन्दा बढी रकम प्राप्त गर्न अनुमति हुनेछ । (बिबिसी)

प्रतिक्रिया