राष्ट्रपति बाइडेनको चेतावनी ‘रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्’

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।

‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’, बाइडेनले भने । ‘हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपति बाइडेनले भने ।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ‘रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन,’ बाइडेनको थप चेतावनी छ ।

तर, त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि उनले बताएका छन् । ‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु, रूसीहरूका लागि यो महङ्गो पर्नेछ’, उनले भनेका छन् ।

युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ । ‘उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन, मेरो अनुमान छ कि उनीभित्र जान्छन्, उनले केही गर्नुपर्छ,’ बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने ।

‘उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन्’, राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया