घुमिफिरी मुलाको फेद !

देवशंकर पौडेल

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा अवस्थित पोकली छाँगो नेपालकै सुप्रसिद्ध झरना हो । यसको मनमोहक कला र सर्वांग दर्शन गर्न रामेछाप तर्फको लिखु तामाकोशी–२, सैपुको दिलौरी, आहालडाँडा, पालौरी, पुलु र बेलौरीबाट रमणीय हुन्छ । यो झरनासँग सम्बन्धित अनेकौँ किंवदन्तीहरू सुन्न पाइन्छ । झरना ओखलढुंगा जिल्लामा भए पनि यसलाई रामेछाप जिल्लाले समेत अपनत्व राख्दछ । अनौठा किंवदन्ती बोकेका ओखलढुंगा जिल्लाका तीन प्रसिद्ध खोलाहरू पोकली, सिल्खु र मोलुङ एउटै शिरबाट उत्पत्ति भएका छन् । पोकली र सिल्खु लिखुनदीमा मिल्दछन् भने मोलुङ (शिवदूती) सुनकोसीमा मिल्दछ । पोकलीका शिरमा चुलीपोखरी नामको एउटा प्रसिद्ध धार्मिकस्थल (पोखरी) छ । पोखरी छेउमा एउटा देवीस्थान पनि छ । त्यहाँ दुइटी देवीका प्रतिमूर्ति रहेका छन् । एउटीलाई सेती र अर्कीलाई कालीको रूपमा मानमनितो गर्दै आउने गरिएको छ । सेतिदेवीलाई दूध र कालीलाई रगत चढाएर खुसी पर्ने परम्परा रहिआएको छ ।

किंवदन्ती बमोजिम परापूर्व कालमा यहि बाटो भएर कतैबाट बरियात फर्किंदै थियो । यही पोकलीको शिरतिर कुनै ओडारमा बास प¥यो । हालको मल्खु, लाम्राङ र खुड्की भिर रहेको जमिनमाथि त्यस बेला अग्लो पहाड उभिएको थियो । त्यहि पहाडमा विशाल ओडार पनि थियो । त्यस बेला पोकली खोलाको पानी हाल उत्तर लेती र जिली–चप्लेटी छुट्याउने लेती नामको अर्को मनमोहक झरनातर्फ मोडिएर बहन्थ्यो । ओडारमा बेहुला, बेहुली, कल्स्यौली, मुड्यौली, डोले, भरिया समेतका जन्ती खानापिना सकेर व्यवस्थित तरिकाले बास बसिरहेका थिए । रात छिप्पिँदै गयो । जन्ती मस्त निद्रामा परे ।
मध्य रात भएपछि पश्चिम आकाशमा बिजुली चम्कियो, आकाश गर्जियो । पहाडमाथि एकपछि अर्को गर्दै, बज्र बर्सिन थाले । ओडार कम्पयमान हुन थाल्यो । हात्तीका सुँडजस्तो मुसलधारे बर्षा घण्टौंसम्म अटूट बर्षियो । अनकण्टार जंगली ओडारमा बसेका जन्तीहरू त्राहीत्राही भए । बिहानीपख भएपछि जन्ती बासबसेको उक्त ओडारसहित मल्खु, लाम्राङ र खुड्की भिरमाथि ठडिएको विशाल पहाड चिराचिरा भएर भत्कियो । लेती झरनाको महत्वपूर्ण जलप्रवाहले बाटो परिवर्तन गरेर बीचबाटै ओइरियो । नयाँ खोला पोकली बन्यो र केही तल साकले खोलासँग मिलेर लिखुमा मिसियो । बेहुला–बेहुलीसमेत सबै बरियात एकै छिनमा गल्र्याम्गुर्लुम्म विशाल पहिरोमा परे । तिनको नामोनिसाना भेटिए । ओडारको सानो अवशेष भने जोरछाँगामाथि आज पनि देख्न पाइन्छ ।

कालान्तरमा पहाडी चेपचापबाट फालहाल्दै गरेर खोलाले छाँगाको रूपमा आकार लियो । समय क्रममा भिर, पहरा, अक्कर, खोंचमा बोटविरुवा उम्रिन थाले । भनिन्छ कल्स्यौली या मुड्यौलीका थैलीमा मुलाको बिउ रहेछ । उक्त बिउ खुड्की भिर वा त्यतै आसपासमा उम्रियो । मुला सामान्य मुलाजस्तो नभएर एउटा रुखको ठूटोजस्तो ठूलो भयो । यता उति हिँड्नेहरूले मुलाको साग चुँडेर खान थाले । जति खाए पनि नसकिने रहस्यमय मुलाको साग कसैले घरलान खोज्यो भने घुमिफिरी त्यहि ठुटामा पुग्ने हुनथाल्यो । जति गर्दा पनि घर लान नमिलेपछि वाक्क भएर मुलाको साग त्यहिँ फालेर हिँड्न थाले । मुला त्यहिँ बसेर खाने, लिएर घर नजाने परम्परा बस्यो र त्यस्तै प्रचार भयो । नेपालको पूर्वतिर, ‘घुमिफिरी रुम्जाटार’ वा ‘घुमिफिरी बांगेसल्ला’ भन्ने चलन छ । त्यसभन्दा पहिला पोकलीमा ‘घुमिफिरी मुलाको फेद’ भन्ने चलन चलेको हुनुपर्छ । अझै पनि उक्त रहस्यमय मुला पोकलीको खुड्की भिर आसपासमा छ; भन्ने जनविश्वास आज पनि रहेको छ ।

पोकली झरना खण्डखण्ड छ । पहिलो खण्डमा समानान्तर दुईवटा छाँगा छन् । त्यसपछि एउटै ठूलो जलप्रपात छ । केही तल अर्को सानो तर रहस्यमय छाँगो छ । तल्लो झरना एउटा गहिरो दहमा खस्दछ । त्यस दहलाई हाँडीदह भनिन्छ । एउटै चट्टानमा विशाल हाँडी आकारमा बनेकाले ‘हाँडीदह’ भनिएको हुनुपर्छ । हाँडीदहमा बेलाबेलामा भाँडाकुँडा बज्दछन् । त्यहाँ धुपधुँवार गरेर भाँडा माग गर्दा पहिले पहिले काजभोजमा भाँडाकुँडा पाइन्थ्यो रे ! काम सकेपछि सफा गरेर बुझाउनु पथ्र्याे । कसैले भाँडा फिर्ता गर्ने बेलामा लापर्वाही गरेर जुठो बुझाइदिएछन् । त्यस दिनदेखि देउता रिसाएर भाँडा दिन छाडे भन्ने भनाइ छ । दाइजोमा आएका ती भाँडाकुँडा अकाल मारिएका जन्ती वायुको रूपमा उत्रिएर हाँडीदहमा चमत्कार भएको विश्वास गरिन्छ ।

पोकलीका माथिल्ला जुम्ल्याहा र बीचको लामो छाँगाबाट झरेको पानी तल चट्टानमा बज्रिंदा निस्किएका पानीका बाछिटा धुवाँको मुस्लोजस्तो देखिने गरि निस्किएर भित्तो ढाक्दछन् । त्यहाँ सूर्यको किरण पर्नासाथ हरेक दिन सप्तरंगी इन्द्रेनी देखिन्छ । त्यसलाई पोकलीका भूतले खानाखाने बेला भएको ठानिन्छ । सैपुतिरबाट कहिलेकाहिँ पोकली झरनामा बाजा बजेको आवाज पनि सुनिन्छ । जन्तीमा सामेल भएका बाद्यवादकहरूका जागित्रले नौमति बाजा बजाएको भनेर भन्ने गरिन्छ ।

पोकलीमा अर्को पनि एउटा भनाइ चलन चल्तीमा छ । त्यहाँ रिठ्ठे नाम भएको प्रसिद्ध वनझाँक्री बस्ने गर्दछ । उसले त्यस भेगका बालकहरूलाई चोरेर लैजान्छ । सातसिता भात, गड्यौलाको तरकारी र फलामका चिउरा खान दिन्छ । उसकी झाँक्रीनी लामालामा दाह्रा, ठूलाठूला झोलिएका फाँचा, शरीर भरी भुत्ला, बल्ढ्यांग्रे आँखा भएकी डरलाग्दी हुन्थी । आक्रामक पनि थिई । झाँक्रीले झाँक्रिनीको आक्रमणबाट बचाउँछ । मिहिनेतपूर्वक झाँक्री विद्या सिकाएर पठाउँछ । रिठ्ठेझाँक्री पहिले सुनझाक्री थियो । कतै उसलाई शरीरमा खोटो घस्न लगाएर अगुल्टाले हेर्दा सल्किएर पानीका दहमा पसेर निभाएपछि रिठ्ठोजस्तो कालो भयो । त्यसपछि उसलाई रिठ्ठेझाँक्री भन्ने गरियो भन्ने गरिन्छ । यो कतैबाट बसाईं सरेर पोकलीमा आएको थियो ।

राजा गीर्वाणयुद्ध विक्रम शाहका दरबारमा ख्याति कमाएका पहरे निवासी प्रसिद्ध झाँक्री अर्जुन रावाचा सुनुवारलगायत धेरै झाँक्रीहरूलाई त्यहिँका वनझाँक्रीको शिक्षा थियो; भन्ने किंवदन्ती पनि छ । रिठ्ठेझाक्री पोकली दोभानसँगै दोभान भएको सैपुको छ्युरी छाँगा र केही माथि लेतीखोला नजिकै दोभान भएको चोक्टेखोलाको तिलौरीछाँगासम्म पनि खेल्ने गर्दथ्यो । उसका चेलाहरूलाई त्यहिँका गड्यौला, त्यतैका खेतमा टिपेका धान नङले उधारेर खान दिन्थ्यो । झरनाको रूपमा पोकलीको कला हेरेर जति आनन्द मिल्छ ! त्यसभन्दा ज्यादाभित्र लुकेका रहस्यमय किंवदन्तीहरू सुन्दा टाढाटाढाका मानिसहरू समेत मन्त्रमुग्ध हुने गर्दछन् । त्यस आसपासका जति पनि जनश्रुति सुनिन्छ, तिनले भुईं छोएर मनोरञ्जन दिँदा आनन्दित महसुस हुन्छ । सुन्दा किंवदन्ती जस्तो लाग्यो यी कथा पुराना पाकाहरूले भने साँच्चै भएको भन्ने गरेका छन् ।

प्रतिक्रिया