यौनजन्य तथ्यज्ञानको अभाव र यसको प्रभाव

प्रदीप उप्रेती

प्राकृतिक रूपमा वरदान स्वरूप प्राप्त हुन आएको यौनलाई कुनै पनि तवरले मानव समाजदेखि पृथक गर्ने प्रयास जारी राख्ने हो भने, मानवजीवन र सृष्टि निरस मात्र नरही औचित्यहीन रहन जानेछ । तसर्थ यौनजन्य तथ्यज्ञानसँग पाश्चात्य नागरिक समाजको तुलनामा नेपाली नागरिक समाज समनिकष्ट रहनु जरुरी छ । जसको अभावमा कैयौँ युगलजोडीको सुमधुर दाम्पत्य जीवनसमेत निरासाजनक मार्गमा मोडिन सक्ने सम्भावनलाई ध्यानमा राखी सम्बद्ध पक्षको यौनिक अधिकारको रक्षा गर्नु यौनजन्य दुर्घटनाको दरलाई न्यून गर्नु सरहको अवस्था हो ।

सामान्यतया शिक्षित एवं सौम्य नेपाली नागरिक समाजसमेत यौनसम्बन्धी तथ्यज्ञानको अभावमा रुमलिएको छ । तत्सम्बन्धी विषयगत विविधताको गाम्भीर्यतालाई समेत सहज रूपमा आत्मसाथ गर्न नसकेकै कारण दैनिक रूपमा यौनजन्य दुर्घटनाको दरमा तीव्र अभिवृद्धि हुँदै गएको छ । आधुनिकताको नाममा मौलाउँदै गएको छाडापनले समस्या समाधानमा गतिरोध उत्पन्न हुन जाने सम्भावनालाई ध्यानमा राखी समाधानका कार्ययोजनालाई व्यवस्थित तवरले अगाडि बढाउनुपर्ने हुन्छ । विशेषगरी पाश्चात्य संस्कृतिको प्रभावका कारण मौलाउँदै गएको सम्बद्ध क्षेत्रको खुलापनलाई यथास्थितिमा कायम राख्ने अथवा परम्परागत अवधारणा अनुरूप संकुचित अवस्थामा नै सीमित रहन दिने भन्ने प्रश्नले निश्चित रूपमा विवादको घेरामुक्त हुन सकेको पाइँदैन ।

वस्तुतः प्राकृतिक रूपमा वरदान स्वरूप प्राप्त हुन आएको यौनलाई कुनै पनि तवरले मानव समाजदेखि पृथक गर्ने प्रयास जारी राख्ने हो भने, मानवजीवन र सृष्टि निरस मात्र नरही औचित्यहीन रहन जानेछ । तसर्थ यौनजन्य तथ्यज्ञानसँग पाश्चात्य नागरिक समाजको तुलनामा नेपाली नागरिक समाज समनिकष्ट रहनु जरुरी छ । जसको अभावमा कैयौँ युगलजोडीको सुमधुर दाम्पत्य जीवनसमेत निरासाजनक मार्गमा मोडिन सक्ने सम्भावनलाई ध्यानमा राखी सम्बद्ध पक्षको यौनिक अधिकारको रक्षा गर्नु यौनजन्य दुर्घटनाको दरलाई न्यून गर्नु सरहको अवस्था हो ।

प्रस्तुत क्रममा कहिँकतै कुनै तवरबाट पनि अन्याय परी नारकीय जीवन बिताउन नपरोस् भन्नाको खातिर देशकाल, परीस्थितिअनुसार नीति–नियम एवं आवश्यक कानुनको व्यवस्थापन गरिएको हुन्छ । तत् सन्दर्भमा सामाजिक व्यवहारअनुसार निश्चित रूपमा पाश्चात्य एवं पूर्वीय संस्कृतीमा केही फरकपनको अनुभूति भने अवश्य पनि हुन सक्दछ । यद्यपि सभ्य भनिएको नागरिक समाजमा समेत अपवादवाहेक यौनको महत्व र अपरिहार्यतालाई कुनै पनि हालतमा अलग राख्न मिल्दैन । मानवीय आवश्यकताका विविध पक्षअन्तर्गत प्रस्तुत तथ्यलाई पनि समावेश गरिएको हुँदा यसको सान्दर्भिकता घामजस्तै छर्लंग भएको छ । जैविक सृष्टिको विषयान्तरलाई परिपूर्ति गर्दै निरन्तरता प्रदान गर्नुपर्ने बाध्यात्मक तथ्य नै आधारभूत यौनजन्य तथ्यज्ञानको विषयवस्तुसमेत हो ।

जसका लागि विवाह कानुनी रूपमा बैधता प्राप्त गर्ने उपयुक्त एवं उत्तम विधिसमेत हो । हुन त आज २१औँ शताब्दिको आधुनिक नेपाली युवापिढीले विवाहसम्बन्धी कानुनी अवधारणालाई पूर्ण रूपले परिपालना गर्दछन् भन्ने कुरामा ढुक्क हुन सक्ने अवस्था रहेको पाइँदैन । किनकि लिभिङ टुगेदर लगायतका सम्बन्धमा रमाउन चाहने युवायुवतीहरूले परम्परागत विवाहसम्बन्धी अवधारणालाई कुन रूपले हेर्ने हुन् सहजै अनुमान लगाउनु अत्यन्त कठिन विषय हो । यति हुँदाहुँदै पनि मान्यता प्राप्त वैवाहिक अवधारणालाई जानाजान कुल्चिने प्रयास गर्ने हो भने, यौनजन्य दुर्घटनाको सिकारमा पर्न सक्ने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । तसर्थ प्रस्तुत प्रवृत्तिका महत्वपूर्ण विषयका वारेमा संकोच लिनु त्यति उपयुक्त कदम मान्न सकिँदैन । जसमा यौन अनुशासन सहितको खुलापनको अनुभूतिले निश्चित रूपमा सकारात्मक परिणाम हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ भन्दा फरक नपर्ला ।

यसै सन्दर्भमा अन्य समूहको तुलनामा विशेष गरी अभिभावक वर्गको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । किनकि विवाहयोग्य आफ्ना सन्ततीका अतिरिक्त अन्य सन्ततीलाई समेत यौनशिक्षाको महत्व एवं अनुशासनलाई सदैव पालना गर्ने नैतिक शिक्षाजन्य क्रियाकलापलाई व्यवहारतः लागू गर्ने प्रयासको अभिवृद्धिले यौनजन्य तथ्यज्ञानको अभावलाई पूर्णता हासिल गर्न सक्ने अवस्था पैदा गर्नेछ ।

तत् सन्दर्भमा प्राप्त हुने ज्ञानरूपी भण्डारलाई विवेकपूर्ण ढंगबाट सही रूपमा संचरण गर्न आजका विवाहयोग्य युगल जोडीका अभिभावक समूह कतिसम्म सक्षम रहन्छन् भन्ने तथ्यको आधारमा सम्बद्ध पक्षको सफल एवं सुमधुर वैवाहिक भविष्य निर्धारण हुन सक्ने तथ्यलाई मनन गर्दै ज्ञानज्योति चेतनाको रूपमा यौनशिक्षाको महत्वलाई अगाडि बढाउनु समय सान्दर्भिक कदम हो भन्दा फरक नपर्ला ।

प्रस्तुत विषयगत विधाको महत्वलाई मनन् गर्दै तल्लोभन्दा तल्लो तहसम्मको समुदाय स्तरमा नै चेतनाको अभिवृद्धि गर्नुपर्ने हुन्छ । यद्यपि यौनिक आचरणको अनुशसित व्यवहारलाई भने सम्मानपूर्वक लागू गर्ने प्रतिवद्धता जनाउने हो भने, तत्सम्बन्धी नागरिक समाजमा घटने र घट्न सक्ने दुव्र्यवहारको दरलाई न्यून गर्दै यौनशिक्षाको महत्व अझै माथि चुलिन जाने सम्भावना रहन्छ । जसमा विशेषगरी युगलजोडीलाई शसक्तीकरण गर्दै उनीहरूको यौनिक समस्याको जटिलतासम्बन्धी विविधपक्षलाई निक्कै गहन ढंगले केलाउने प्रयास गरिनुपर्ने हुन्छ । परिणामतः समस्या समाधानका लागि यसप्रकारका कदमहरू निक्कै लाभदायी सिद्ध हुने देखिन्छ । यसका अतिरिक्त सम्बद्ध शिक्षाको विविध पक्षअन्तर्गत रहेको मानव सृष्टि विकासको क्रमलाई यस सन्दर्भमा कुनै पनि हालतमा पृथक राखेर हेर्न मिल्दैन ।

यौनजन्य सकारात्मक शैक्षिक ज्ञानमा आधारित अनुसन्धानमूलक शिक्षा–विकासले आजका युवा जमातलाई तत्सम्बन्धी ज्ञान प्राप्त गर्नुको साथै रोग प्रतिरोधका सम्बन्धमा अति आवश्यकीय सूचनामूलक जानकारी हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ । प्रस्तुत शिक्षा विकासको प्रभावकारिता भन्नु राज्यद्वारा निर्देशित विवाहयोग्य अवधारणा अनुरूपको व्यवहारलाई पालना गर्नेतर्फ आवश्यक पर्ने कानुनी एवं व्यावहारिक दुबैपक्षबाट सुरक्षित रहन सक्ने अवस्था पैदा गर्नु हो ।

तदुपरान्त गलत यौनजन्य व्यवहार, पारपाचुके, अनमेल विवाह, लगायतका सामाजिक कुरीतिका साथै सम्भावित वैवाहिक कमीकमजोरीलाई आपसी विश्वासको आधारमा सुदृढीकरण गर्दै यौनजन्यतथ्य ज्ञानलाई सफल वैवाहिक जीवन सञ्जीवनीबुटीसरह प्रभावकारी बन्न सक्ने आधार तयार पार्नेछ भन्दा त्यति अत्युक्ति नहोला । प्रस्तुत जीवन सञ्जीवनी कदमलाई आत्मसाथ गर्ने प्रयासले मात्र पनि हाल नागरिक समाजमा कायम रहँदै आएको वैवाहिक अन्योल्यतालाई चिर्दै सकारात्मक सन्देश प्रवाह गर्ने अवस्था तयार गर्नेछ ।

प्रस्तुत प्रवृत्तिलाई अझै सशक्तका साथ मानवजीवनमा उतार्ने प्रयास गर्ने हो भने विद्यालयतहको प्रारम्भिक शिक्षादेखि नै विद्यार्थी भाइबहिनीको उमेर सुहाउँदो अवस्थाअनुसार जीवनपयोगी शिक्षा विकासको एक अभिन्न अंगको रूपमा यौन शिक्षाको महत्व एवं उपादयतालाई लिँदै अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता प्रदान गरिनुपर्ने हुन्छ । यसप्रकारको कदमको विकासले यौनजन्य तथ्य ज्ञानलाई अभिवृद्धि गर्नुको साथै बाल मस्तिष्कमा कायम रहँदै आएको यौनजन्य कुतूहलताको न्यूनीकरण गर्दै सभ्य नागरिक समाजको निर्माण गर्न मद्दत पुग्ने देखिन्छ ।

जसले निश्चित रूपमा उमेरगत समूहमा रहँदै आएको यौनिक आचरणलाई क्रमशः शुद्धीकरण गर्दै विपरीत लैंगीय साथीहरूप्रति विनम्रता, सद्भाव तथा एकआपसमा सम्मान गर्ने परिपाटीको विकास गर्नुको साथै उमेर अनुसारको शारीरिक अवस्था परिवर्तनका सन्दर्भमा यौनशिक्षाको महत्व दर्शाउनुपर्ने हुन्छ । मानव जीवनसँग प्रत्यक्ष साक्षात्कार रहने यौनजन्य ज्ञानका वारेमा आजका युवागणमा सन्देशमुलुक यौनजन्य सद्विचारको अभिवृद्धि गर्न सक्ने हो भने यौन अपराधको दरमा कमी आई स्वास्थ्य सामाजिक जीवनको विकास गर्न सक्षम रहने विश्वास लिन सकिनेछ ।

प्रतिक्रिया