कालिञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो

दोलखा । जिल्लाको कालिन्चोकलगायत उच्च हिमाली क्षेत्र खरिढुंगा, शैलुङलगायत उच्च हिमाली क्षेत्रमा मंगलबार बेलुकादेखि बाक्लो हिमपात भएको छ । दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
बाक्लो हिमपात भएसँगै कालिञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालिञ्चोक परेको छ ।
पर्यटक प्रायः कालिञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ । हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको कालिञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको संख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौं तथा तराईसँग सहजै छोटो दुरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायीहरू बताउँछन् ।

तराईबाट छोटो दुरीमा र काठमाडौंबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौं आन्तरिक पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिमाली जिल्ला दोलखाको रमणीय क्षेत्र कालिञ्चोकमा कालिञ्चोक भगवतीको दर्शन गर्न र हिउँ खेल्नकै लागि कालिञ्चोक पुग्ने गरेको पर्यटकले बताएका छन् । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न करिब सय होटल सञ्चालनमा रहेको कालिन्चोकका होटल व्यवसायी हरि ओलीले बताए ।पर्यटकको मागलाई लक्षित गरी कालिञ्चोक क्षेत्रमा मात्र ३ हजार ५ सयदेखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको व्यवसायी वलीले बताए ।

राजधानी काठमाडौंबाट १ सय ३३ किमीको सडक यातायातबाट चरिकोट पुगेपछि १७ किमी दुरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ । धार्मिक आस्था तथा हिउँ खेल्नका लागि भारतीय पर्यटक दोलखामा आउने गरेका छन् । नेपालकै तेस्रो केबुलकारसमेत कालिञ्चोकमा सञ्चालनमा रहेका कारण हिमाली क्षेत्रमा केबुलकारबाट मनोरञ्जन लिनका लागिसमेत पर्यटक कालिञ्चोक पुग्ने गरेको पाइन्छ ।

३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् । यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृंखलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । जिल्लामा परेको हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको संख्या वृद्धि भएको छ । यसैगरी जिल्लाको खरीढुंगा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया