जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १ सुत्केरीको मृत्यु भएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको हो ।
मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रिया गरी अनिताले छोरा जन्माएकी थिइन् । शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार विहान मृत्यु भएको यादवको भनाइ छ ।
शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप छ । शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले तोडफोड र प्रदर्शन गरेका छन् । सोमबार दिनभर अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।
सोमबार अपराह्न मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा साढे १३ लाख रकम र १ जनालाई रोजगारी दिने सहमति भएको छ ।
मृतकको किरिया खर्चबापत ३ लाख ५० हजार र ३ छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यता अनुसारको रोजगारी दिने सहमति भएको एक आफन्तले बताए ।
अस्पतालका निर्देशक धर्म सुवेदीले उपचारमा लापरवाही नभएको दाबी गरे । तर, अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ । सहमतिपछि मृतकका परिवारले शव बुझेका छन् ।
प्रतिक्रिया