कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान ३ बजेपछि

काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो ३ बजेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७:३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।

प्रतिक्रिया