कांग्रेस महाधिवेशन : सभापतिमा फेरि दोस्रो चरण देउवा र कोइरालाको भिडन्त

काठमाडौं । यही मंसिर २४ गतेबाट भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार विभिन्न उम्मेदवारमा निर्वाचन भएको छ । तर, सभापतिमा भिडेका मध्य शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि मतदान हुने भएको छ ।

हिजो भएको मतदानमा कसैको पनि बहुमत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । अब कांग्रेसको नयाँ सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । ​

प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो ।सोमबार बिहानदेखि राति अबेरसम्म भएको मतदानमा जम्मा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापतिमा प्रतिस्पर्धीमध्य देउवाले २ हजार २ सय ५८ मत ल्याए भने कोइरालाले १ हजार ७ सय २९ मत ल्याएका थिए । त्यस्तै सभापतिमै निकटतम प्रत्यासी प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया