बिग ब्यासमा होबार्ट पराजित

सिड्नी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१÷२२ मा सिड्नी सिक्सर्ससँग १४ रनले पराजित भएको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा पहिलो खेलमै होबार्ट सिड्नीसँग पराजित हुन पुगेको हो । १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । होबार्टका पिटर ह्यान्ड्सकम्बले ३१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । म्याथ्यु वेड २०, डार्सी शर्ट २१, केलेव ज्वेल २० र जोर्डन कक्स १० रनमा आउट भए । सिड्नीका टम करनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । हेडेन केरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । सिड्नीका कप्तान मोइजेस हेनरिक्सले ४८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । टम करनले २१ बलमा ४ चौकासहित २७ रन बनाए ।

एक समय ८.१ ओभरमा ३९–५ को अवस्थाबाट सिड्नीले राम्रो पूनरागमन गरेको थियो । होबार्टका थोमस रोर्जसले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । नाथन एलिसले २ विकेट लिए । होबार्टले दोस्रो खेल शनिबार सिड्नी सिक्सर्ससँग नै खेल्नेछ ।

सन्दीपको चार ओभर
होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।

सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे । १३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ बल डट राखेका थिए ।

प्रतिक्रिया