बाटो बिराएको राजनीति

डा. डिआर उपाध्याय

यति बेला कांग्रेस आफ्नो अधिवेशनको तयारीमा छ । कांग्रेसले अधिवेशन सम्पन्न गरेर आमकार्यकर्तामा उत्साह ल्याउने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउने काममा जुट्नु पर्छ । यो दायित्व पूरा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । लोकतान्त्रिक संविधान र संघीय गणतन्त्रको रक्षा आजको आवश्यकता हो । निर्वाचनमा जाँदा कांग्रेसले योजना लिएर जानुपर्छ । जनतालाई विश्वास दिलाएर काम गर्नुपर्छ ।

यो वर्ष पार्टीहरूको महाधिवेशनको वर्ष बन्दै छ । एमाले र राप्रपाले महाधिवेशन सम्पन्न गरेका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई हराउँदै उनी अध्यक्ष भएका हुन् । राप्रपाको नेतृत्व युवा र नयाँ पुस्तामा गएको छ । राप्रपाका कार्यकर्ताले राम्रो निर्णय गरेका हुन् । यो कुराले अरू पार्टीमा पनि पाठ सिकाउन सक्छ । नयाँ पुस्तामा नेतृत्व जानु भनेको युवाको मनोबल बढनु हो ।
पराजित भएपछि कमल थापा बरबराउन थालेका छन् । यसले के देखाउँछ भने थापा पदका लोभी हुन् । उनी राजेन्द्रको सपथमा गएनन् भन्ने पनि हल्ला छ । आफूले जिते सबै ठीक आफू हारे सबै बेठीक भन्ने संस्कार मौलाएको छ, यसको अन्त्य हुन जरुरी छ । यस्तो रोग सबै पार्टीमा छ । बुढा नेताहरूले नेतृत्व छोडनै नमान्ने, यो प्रवृत्ति गलत छ । अब सबै दलका नेता कार्यकर्ताहरूले सोच्नुपर्ने बेला आएको छ । अब सोच्न ढिला गर्नु हुँदैन ।

यता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले केही दिनअघि १०औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक पुनः अध्यक्षमा चुनिएका छन् । तामझामका साथ चितवनमा महाधिवेशन सम्पन्न भएको हो । एमाले महाधिवेशनमा ठूलै जनसहभागिता देखियो । एमालेको त्यो शक्ति प्रदर्शन हो । एमालेले पाँच गठबन्धनलाई शक्ति देखाउनुथियो, देखायो । एमालेका प्रतिस्पर्धी अन्य शक्ति त्यो जनसहभागिता देखेर आत्तिएको हुनुपर्छ । एमाले कमजोर छैन भन्ने संकेत उक्त महाधिवेशनले पुष्टि गरिदिएको छ । जुन अरू पार्टीका लागि टाउको दुःखाइको विषय बनेको देखिन्छ । नेपाली राजनीतिमा कतिखेर के हुन्छ भन्न सकिँदैन । आज विरोधि भएका पार्टी मित्र बन्न पनि सक्छन् । यो कुरा विगतबाट सिक्न सकिन्छ । विगतका घटनाले सबै प्रष्ट पारेको छ । एमालेलाई नेपालको राष्ट्रिय राजनीतिबाट अलग्याउन पाँच दलले गठबन्धन गरेका छन् । यो आगामी चुनावसम्म के हुन्छ त्यो भने हेर्न बाँकी छ । वामशक्तिहरू आउँदो निर्वाचनमा एकै ठाउँमा जुटेर, गठबन्धन बनाएर वा सिट तालमेल गरेर जान सक्ने सम्भावना पनि छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले इतरका वाम शक्ति समेट्ने योजना र रणनीतिमा भएको देखिन्छ । पूर्वमाओवादीका नेता मोहन वैद्य किरणदेखि विप्लवसम्म प्रचण्डसँग मिल्न सक्ने सम्भावना पनि बढेको छ । अर्को कुरा नेकपा माओवादी केन्द्रलगायत एमाले इतरका शक्ति एक ठाउँमा उभिन सक्ने पनि देखिएको छ ।

मुलुकमा ०७२ सालमा जारी भएको संविधानप्रति केही दल, समूह अझै पनि असन्तुष्टि नै छन् । उनीहरूलाई चित्त बुझाउन फकाउने प्रयास अवश्य हुने नै छ । संविधानले माओवादीले चाहेजस्तो राजनीतिक व्यवस्था र पद्धति दिन नसकेको देखिन्छ । माओवादीले आफूले चाहेको पद्धति पूरा हुन नसकेको बताउँदै आएको छ । कार्यकारी राष्ट्रपति र पूर्णसमावेशी जनप्रतिनिधिसहितको राष्ट्रिय सभा माओवादीले चाहेको देखिन्छ । उसले आसन्न चुनावमा तालमेल गरेर जाने बताएको छ । माओवादी पार्टीले देशभरी आठ लाख संगठित सदस्य भएको दाबी गरे पनि एक्लै चुनावमा जाने हिम्मत गरेको छैन । नेपाली राजनीतिमा बेलाबेलामा उतारचढाव आउने गरेको छ । एमाले विभाजन भएपछि कांग्रेस कमजोर छैन । ओली नेतृत्वको एमाले पनि त्यति कमजोर छैन । अहिले नेपाली कांग्रेस किन कमजोर छैन भने एमाले विभाजित छ । देशकै पुरानो प्रजातान्त्रिक पार्टी हो कांग्रेस । यो पार्टी कुनै बेला कमजोर हुनु हुँदैन ।

उता नेकपा एमालेमा ओलीले एकलौटी रूपमा पार्टी चलाइरहेका छन् । पार्टीमा उनले जे भन्यो त्यही चल्छ । यो कुरा महाधिवेशनले देखाएको छ । उनी इतर उठेका नेता भीम रावललाई ओलीले जुन मतले हराए, त्यसले पनि उनको एमालेमा निकै दबदबा रहेको संकेत गरेको छ । एमाले बलियो बन्दै गएको देखेर समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायतका वाम पार्टीमा एक किसिमको त्रास उत्पन्न भएको देखिन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो पार्टीलाई बलियो बनाउन चाहेका छन् । त्यसका लागि उनी जुनसुकै हदसम्म जान पनि तयार देखिन्छन् । प्रचण्ड चलायमान नेता हुन । उनी सशस्त्र विद्रोह गरेर उदाएका नेता हुन् । उनी समय र परिस्थितिअनुसार चल्ने नेता हुन् । भित्री रूपमा प्रचण्ड, विप्लव र मोहन वैद्य समूहका बीचमा केही संवाद अगाडि बढेको कुरा पनि बाहिर आएको छ । आगामी चुनावमा पूर्ण बहुमत कांग्रेस एक्लैले पनि लिन नसक्ने देखिन्छ । ओली नेतृत्वको एमालेले पनि बहुमत ल्याउन सक्दैन । सशक्त र ठूलो पार्टी कसैको बन्ने सम्भावना छैन । जसका कारण राजनीतिक अस्थिरता निम्तिने खतरा बढेर गएको छ । जब बहुमत हुँदैन, तब सरकार निर्माणका लागि दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा फेरि भागबन्डा र पैसाको खेल चल्न थाल्छ । देशमा फेरी यस्तो अवस्था सिर्जना हुन सक्छ । राजनीतिक दलहरू कमजोर भए भने लोकतन्त्र कमजोर हुने खतरा आउन सकछ ।

अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट प्राप्त उपलव्धिलाई संस्थागत र सुरक्षित राख्न दलहरू गम्भिर बन्न जरुरी छ । देशलाई पुनः द्वन्द्वमा जान दिनु हुँदैन । यसमा दलहरूले विवेक पु¥याउन जरुरी छ । देश पुनः द्वन्द्वमा गयो भने आमजनताले निकै दुःख पाउने अवस्था आउन सक्छ । त्यसैले समयमै राजनीतिक दलहरू गम्भीर भएर लाग्नुपर्छ । पुरानो पार्टी नेपाली कांग्रेस यसमा गम्भीर बन्नुपर्छ । उसले पार्टीलाई एक बनाएर लैजान सक्नुपर्छ । पार्टीलाई सुदृढीकरण गर्नुपर्छ । नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ । युवा वर्गलाई समेट्नुपर्छ । मुलुकको भविष्यका लागि यो पार्टी बलियो बन्नुपर्छ । लोकतान्त्रिक व्यवस्थाका लागि, हजारौँको बलिदानपछि प्राप्त भएको संविधानका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली कांग्रेस बलियो बन्नुपर्छ । कांग्रेसले सबै दललाई समेट्न सक्नुपर्छ । सबै दललाई शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी गराउन सक्नुपर्छ । सँगै लिएर हिँड्न सक्नुपर्छ । यदि अहिलेको अवस्थामा कांगे्रसले यस्तो गर्न सकेन भने देशमा समस्या निम्तिन सक्छ । कांग्रेसले पार्टीभित्रका गुट र उपगुटलाई समाप्त पार्नुपर्छ । यसो भयो भने पार्टीलाई नयाँ ऊर्जा दिन्छ, एकतावद्घ बनाउँछ । देशमा गठबन्धनको संस्कार मौलाएको छ । राजनीतिले बाटो बिरायो भने जनताले दुःख पाउँछन् । पटकपटक राजनीतिले बाटो बिराएको छ । अहिले अल्मलिने र रुमलिने बेला होइन । जनताका आवश्यकता पूरा गर्ने बेला हो यो । राजनीतिले बाटो बिराउँदा नेपालको राजनीतिमा अस्थिरता आउँछ । मुलुकलाई स्थिरता र विकास चाहिएको छ । यदि मुलुकमा राजनीतिक अस्थिरता भयो भने मुलुक राजनीतिक संकटमा फस्ने, आर्थिक रूपले टाट पल्टिने र विदेशी हस्तक्षेप निम्तिन जानेजस्ता समस्या निम्तिन सक्छन् । त्यसोे हुँदा राजनीतिक दलहरू सचेत र गम्भीर बन्न आवश्यक छ ।

यति बेला कांग्रेस आफ्नो अधिवेशनको तयारीमा छ । कांग्रेसले अधिवेशन सम्पन्न गरेर आमकार्यकर्तामा उत्साह ल्याउने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउने काममा जुटनुपर्छ । यो दायित्व पूरा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । लोकतान्त्रिक संविधान र संघीय गणतन्त्रको रक्षा आजको आवश्यकता हो । निर्वाचनमा जाँदा कांग्रेसले योजना लिएर जानुपर्छ । जनतालाई विश्वास दिलाएर काम गर्नुपर्छ । जनता अब भ्रममा पर्दैनन् र पार्नु पनि हँुदैन । कांग्रेस मुलुकको सबैभन्दा पुरानो पार्टी हो । देशका राजनीतिक परिवर्तनका आन्दोलनमा नेपाली कांग्रेसको मुख्य भूमिका छ । यो विषय जनतालाई अवगत गराउनुपर्छ । जनताको विश्वास जित्न नसक्ने पार्टी आउँदो चुनावमा सकिन्छन् । अहिले मुलुकमा कांग्रेस नेतृत्वको सरकार छ । यो बेलामा कांग्रेसले विकास निर्माणका काममा तीव्रता दिनुपर्छ । गाउँगाउँमा विकास निर्माणका कामहरू गर्नुपर्छ । जनताको आवश्यकता के छ ? त्यो पूरा गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता परिचालन हुनुपर्छ । त्यो भयो भने मात्र जनताले विश्वास गर्छन् । यो मौका हो । आजैबाट लाग्नुपर्छ । हरेक वर्ष नेताहरूको झुटो आश्वासन सुनेर जनता वाक्क दिक्क छन् । अब जनतालाई झुटो आश्वासन दिने होइन परिणाम दिने हो । त्यसका लागि काम गरेर देखाउनुपर्छ । त्यसको अवसर पनि छ । यो अवसरलाई खेर जान दिनु हुँदैन । जुनसुकै पार्टीभित्र रहेको गुट र उपगुटलाई समाप्त पार्नुपर्छ । गुट र उपगुटले पार्टीलाई कमजोर बनाउँछ । पार्टीको विषयमा सोच्नुपर्छ । कांग्रेसमा पनि गुट र उपगुट भए । यसले कांग्रेस कमजोर बनाउँछ ।

प्रतिक्रिया