‘एक पटक फेरि सभापति बनेर अझै राम्रो गर्छु, एकपटक मलाई सहयोग गरिदिनुस्’

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए ।

उनले भने, ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।’

त्यस्तै देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु:ख नदिने उनले बताएका छन् । उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

प्रतिक्रिया