विव्यसले नै गर्यो विद्यालयमा तालाबन्दी

इलाम । जिल्लाको माङसेबुङ–२ इभाङस्थित इभाङ आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूलाई कुनै जानकारी नै नदिई प्रधानाध्यापकले हिउँदे बिदा दिएको भन्दै तालाबन्दी गरेका हुन् । विद्यालयले १५ देखि २४ मंसिरसम्म हिउँदे बिदा दिएको थियो ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको जानकारी र निर्णयबिना नै बिदा गरिएकाले तालाबनदी गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर लिम्बूले बताए । लकडाउनका कारण बन्द भएको विद्यालय खुल्नासाथ फेरि बन्द हुँदा छोराछोरीको भविष्यप्रति चिन्ता बढेको अभिभावक कमलादेवी राईले बताइन् । यता विद्यालयकी प्रधानाध्यापक पम्फा पुलामीले भने विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफहरूसँग छलफल गरेर नै हिँउदे बिदा दिइएको जिकिर गरिन् ।

उता माङसेबुङ शिक्षा शाखा प्रमुख टंक खरेलले माङसेबुङ गाउँपालिकाको शैक्षिक क्यालेन्डरअनुसार २५ पुसदेखि हिउँदे बिदा दिनुपर्नेमा सो विद्यालयले जाडो सुरू नहुँदै बिदा दिइएको कुरा आफूलाई जानकारी नआएको बताउँदै तत्काल विद्यालयसँग स्पटीकरण माग्ने बताए ।
सो विद्यालयम बाल कक्षादेखि ८ कक्षासम्म १ सय १० जना विद्यार्थीहरू रहेका छन् । विद्यालयमा स्थायी शिक्षक दुई जना, राहात अनुदान कोटामा एक जना र बालविकास सहयोगी कार्यकर्ता चार जनासहित जम्मा सात जना शिक्षक र एक जना कर्मचारी कार्यरत छन् । तीन जना शिक्षक दरबन्दी भने रिक्त छन् । शैक्षिक सत्र सुरू भएदेखि अहिलेसम्म अनिवार्य गणित, अनिवार्य अंग्रेजी, पेसा व्यवसाय र कम्प्युटर विषय पढाइ सुरु नै भएको छैन ।

प्रतिक्रिया