राप्रपा महाधिवेशन : थापा र लिङ्देनबीच कडा टक्कर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा मतदान भइरहेको छ । मतदान भइरहँदा प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । महाधिवेशनलक्षित गरी सो क्षेत्रमा ५ सय प्रहरी खटाइएको छ । महानगरीय प्रहरी परिसर टेकुका डीएसपी सुदीपराज शाहीका अनुसार अहिले खटिएको प्रहरीले तेस्रो टोली हो । ३ बजेदेखि खटिएको यो टोली राति १२ बजेसम्म रहने शाहीले बताए । ६ वटा सुरक्षा घेरा रहेको छ । ४ वटा घेरा मतदान केन्द्रसम्म पुग्नलाई पार गर्नुपर्छ भने दुई वटा घेरा मतदान कक्षभित्र रहेका छन्,’ शाहीले भने । सो क्षेत्रमा प्रहरीले सुरक्षामा कडाइ गरेको छ । मतदान प्रक्रिया नसकिएसम्म यो जारी रहने बताइएको छ । मतगणनामा आवश्यक परे थप कडाइ गरिने बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि परम्परागत शैलीमा र बाहेकका पदमा विद्युतीय मतदान भएको हो । शनिबार बिहान ढिला गरी सुरु गरेका कारण मतदान सकिन मध्यरातसम्म लाग्ने बताएको छ । ‘एक जनालाई मतदान गर्नै आधा घण्टा लाग्छ । अहिलेसम्म २२ सयले मात्रै मतदान गरेका छन्,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । महाधिवेशनमा ४ हजार ३८० जना प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।

मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्दा मतदान कार्य रातिसम्म लाग्ने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । मतदानमा ८६ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतगणना सकिएको चार घण्टाभित्र परिणाम आइसक्नेछ । राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, १४१ पदका लागि २७० जना उम्मेदवार छन् । राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

कमल थापा–रेखा थापा जुहारी 
राप्रपाको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्नेन प्यानलसहित चुनावी मैदानमा छन् । राप्रपामा पुरानै पुस्ताको नेतृत्व रहने कि नयाँ पुस्ताको भन्नेमा तीव्र बहस छ । यहीबीचमा प्यानलसहितै चुनावी प्रतिस्पर्धा भएपछि उम्मेदवारहरु एकले अर्कालाई कमजोर देखाउनका लागि सबै अस्त्रको प्रयोग गर्नमा तल्लीन देखिएका छन् भने नेताहरु आरोप प्रत्यारोपमा समेत उत्रिएका छन् ।

यस्तैमा राप्रपा अध्यक्ष कमल थापाले रेखा थापालाई गणतन्त्रवादी भएको भन्दै कटाक्ष गरेका छन् । रेखा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बनेपछि कमल थापा उनीविरुद्ध खनिएका हुन् । थापाले सामाजिक सञ्जालमा रेखाको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै ‘हाहा नो कमेन्ट’ भनेका छन् । जुन क्लिपमा रेखाले आफूले गणतन्त्र छान्ने भन्दै नेपालीले कार्यकारी प्रमुख हुने अवसर यही व्यवस्थाले दिने तर्क गरेकी छिन् ।’ हिन्दुवादीको पार्टी राप्रपामा गणतन्त्र पक्षधर रेखाको उम्मेदवारी परेको पुष्टि गरेर उनलाई हराउने मनसाय कमल थापामा देखिन्छ ।
तर, कमल थापाको यो टिप्पणीपछि रेखाले पनि थापालाई जवाफ फर्काएकी छन् । उनले कमल थापा राष्ट्रवादी नभइ अवसरवादी भएको टिप्पणी गरेकी छिन् । रेखाको भनाइमा एमसीसी पक्षधर कमल थापा राष्ट्रवादी हुन सक्दैनन् । कमल थापाले जस्तै भिडियो क्लिप शेयर गर्दै रेखाले भनेकी छिन्, ‘ ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् ।

राप्रपाको एकताको महाधिवेशन मंसिर १५ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । नेतृत्व चयन गर्दै शुक्रबार नै महाधिवेशन सम्पन्न गर्ने भनिएपनि लम्बिन पुगेको छ भने एकताको भनिएको महाधिवेशनमा स्पष्ट दुई धार देखिएको छ । जसले आगामी दिनमा पार्टीभित्र गुटबन्दी मौलाउन सक्ने पनि कतिपय राप्रपाका नेता कार्यकर्ता बताउँछन् ।

उत्पीडित उत्थान संघद्वारा बहिष्कार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी राष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भातृ संगठन हो । शनिबार पत्रकार सम्मेलन गर्दै संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिईएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले हिन्दु धर्मभित्र रहेका विकृति र विसंगतिले दिनप्रतिदिन धर्म कमजोर भइरहेको भन्दै यस्ता समस्याहरुलाई अन्त्य नगरेसम्म हिन्दुधर्म बलियो बन्न नसक्ने धारणा राखेका थिए ।

साथै, उनले यस्ता समस्याको समाधान गर्नको लागि राज्यपनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, उनले ३ वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका थिए । ‘पार्टीमा हामीले यो कुरा राख्यौं, नेताहरुसँग अनुरोध गर्यौं तर, हाम्रो माग सम्बोधन भएन’–उनले भने ।

उनले मुलुकमा ७० लाखको हाराहारीमा रहेका दलित समुदाय र पछाडि परेका उत्पीडित वर्गलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन नसकेसम्म राष्ट्रिय विकासले गति लिन नसक्ने पनि धारणा राखे । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रले दिएको अधिकार पनि पार्टीले बञ्चित गरेको भन्दै दुःख व्यक्त गरेका थिए । अध्यक्ष परियारले आफूले तीन वटा पार्टीबीच एकता भएपछि राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनहरुलाई समायोजन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सुनाए । तर, अहिले पार्टीले महाधिवेशनमा आफूहरुको प्रतिनिधित्व अत्यन्तै कमजोर रुपमा गराएको भन्दै उनले असन्तुष्टि पोखे ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पछाडि परेको वर्गलाई अगाडि बढाउने सन्दर्भमा यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी चुकेको छ र विवेक गुमाएको छ । तसर्थ, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन उत्पीडित उत्थान संगठन यो एकता महाधिवेशन सर्वसम्मत् रुपमा बहिष्कार गरिएको व्यवहोरा निवेदन गर्दछौं ।’

कुन्ती शाहीलाई दीपकराजको चुनौती
काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले राप्रपा अभिनेत्री कुन्ती कुमारी शाहीलाई चलचित्रको कामलाई सजिलो नआंक्न चुनौती दिएका छन् । कुन्तीले अभिनेत्री रेखा थापालाई राजनीति गर्न चलचित्र खेल्नजस्तो सहज नरहेको चुनौति दिएपछि दीपकले रेखाको पक्ष लिँदै चलचित्रलाई सहज र सजिलो कामका रुपमा नबुझ्न चुनौती दिएका हुन् । ‘रेखा थापालाई कुन्ती जीले राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्नु भएछ । कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर ? एकचोटी ट्राई गरेर हेर्नु हुन्छ ? क्यामेरा अगाडि तपाईंको पसिना छुट्नेछ,’ दीपक भन्छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रो नै हुन्छ । त्यसैले कुनै पेशालाई सजिलो ठान्ने काम नगरौं ।’

राप्रपाको जारी एकता महाधिवेशनमा महिलातर्फ महामन्त्री पदका लागि कलाकार रेखा थापा र नेतृ कुन्तीकुमारी शाहीबीच प्रतिस्पर्धा हुँदै छ । शाही अध्यक्षका उमेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उमेदवार छिन् । रोखा राजेन्द्र लिङ्देन समूहबाट उमेदवार छिन् । राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ ।

शाहीले रेखालाई राजनीति गर्न चलचित्र खेलेजस्तो सजिलो नरहेको बताएकी थिइन् । त्यसको प्रतिक्रिया दीपकले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । त्यसो त कलाकारलाई राजीतिक दलहरुले चुनाव जित्न प्रयोग गर्ने गरेको भन्दै दीपकले रेखालाई सचेत पनि गराएका छन् ।

‘एउटा कलाकारलाई चुनाव जित्नका लागि सधैँ दलहरूले प्रयोग गर्दै आइरहेको र उनीहरूलाई कुनै पनि महत्त्वपूर्ण जिम्मेवारी वा पदबाट बत्तिचत गरिँदै आएको छ,’ दीपक भन्छन्, ‘यस्तो अवस्थामा रेखा थापाले महामन्त्री जस्तो महत्त्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुलाई मैले एक कलाकारको हिसाबले स्वागत योग्य ठान्दछु ।’ दीपकले रेखालाई जितको शुभकामना मात्रै दिएका छैनन् । गणतन्त्रबादी रेखा कसरी राप्रपा भइन् भनेर प्रश्न चिह्न पनि उठाएका छन् । सुरुमा रेखा तत्कालीन माओवादी केन्द्रमा थिइन् । पछि राप्रपा प्रवेश गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया