प्राचीन धनुषा : एक उत्खनन्

सञ्जय साह मित्र

विषय प्रवेशः

सनातन धर्मप्रति आस्था राख्ने विश्वका हरेक नागरिकका लागि धनुषा आफैँमा पवित्र तीर्थस्थल हो । धनुषा वा धनुखा भन्नासाथ सामान्यतः एउटा चित्र मनमा आउँछ, त्यो हो रामले ताँदो चढाउन लाग्दा भाँच्चिएको शिवधनु । धनु भाँचिए पनि यसलाई सुखद् घटनाको रूपमा लिइयो । त्यसपछि जानकी अर्थात सीतासित रामको विवाह भयो । भूमिबाट उत्पन्न भएको मान्यतामा सीतालाई भूमिजा पनि भनिन्छ । हलो जोत्दा उत्पन्न भएकोले उनको नाम सीता कहलिएको हो । जनक शिरध्वजकी पुत्री भएका कारण उनलाई जानकी भनियो । सीताका अनेक नाम भए पनि बढी प्रचलित जानकी र सीता नै हुन् ।

राजा जनकको राज्यको राजधानी जनकपुर हो भन्ने मान्यता छ । यस अर्थमा, ऐतिहासिक दृष्टिकोणले जनकपुर महत्त्वपूर्ण छ । यो पुरातात्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण हुनुपर्ने हो । विश्वसम्पदा सूचीमा सूचीकृत हुन नसकेको भए पनि जानकी मन्दिर विश्वका सबै हिन्दूका पूज्य र आस्थामा सूचीकृत छ । यति हुँदाहुँदै पनि जनकपुरबारे पुरातात्विक तथा ऐतिहासिक र पौराणिक बहस भइरहनुपर्छ । जनकपुरदेखि मटिहानीसम्म प्राचीन कालदेखि नै विद्वान् तथा विदुषीहरूको क्षेत्रको रूपमा मानिन्छ । सनातन संस्कृतिका महान् ऋषिहरूको शास्त्रार्थ थलोको रूपमा पनि यस क्षेत्रलाई चर्चा गरिएको विभिन्न ग्रन्थहरूमा पाइन्छ ।
अहिले धनुषा जिल्लाभित्र जनकपुर अर्थात् जनकपुरधाम रहेको छ । धनुषा जिल्ला हो र जनकपुरधाम प्रदेशको राजधानी तथा उपमहानगरपालिका सहर हो । क्षेत्रफलको दृष्टिकोणले धनुषाभित्र जनकपुरधाम रहे पनि चर्चाको आयाममा जनकपुरधामभित्र धनुषा रहेको छ । यहाँ धनुषा र जनकपुरको धार्मिक उत्खनन्को प्रयास गरिएको छ ।

धनुषा :

तुलसीकृत रामचरितमानसमा एउटा श्लोक छ :
प्रभु दोउ चापखंड महि डारे । देखि लोग सब भए सुखारे ।

कौसिकरूप पयोनिधि पावन । प्रेम बारि अवगाहु सुहावन ।
रुपेश ठाकुर प्रसाद प्रकाशन, कचौडीगली, वाराणसीले प्रकाशन गरेको रामचरितमानसमा यस श्लोकको भावार्थ यस्तो छ, ‘प्रभुले धनुषलाई दुई टुक्रा पारी पृथ्वीमा हालिदिनु भयो, सबै देखेर नेहाल भए । तब कौशिकरूपी क्षीरसागरको प्रेमरूपी अथाह सुन्दर जलमा सबै मानिस सुखी भए ।’

यस प्रसंगले रामद्वारा दुई टुक्रामा भाँच्चिएको धनुष जमिनमा रहेको भनिएको छ । जिल्लाको नामकरण धनुषा भएको चाहिँ धनुष शब्दबाट नै हो । अहिले पनि धनुषाधाम प्रसिद्ध छ । रामले भाँचेको शिवधनुषको एक टुक्रा यहाँ रहेको मान्यता अहिले पनि छ । यसले यो संकेत गरेको छ कि अहिलेको धनुषाधाम नै प्राचीन जनकपुरको त्यो विवाहस्थल थियो, अनि जनक शिरध्वजको राजधानी जनकपुर यही थियो ।

जनकपुर :

तुलसीकृत रामचरितमानसमा जनकपुरको अवस्थितिबारे एउटा श्लोक यस्तो छ :

तब प्रभु रिषिन्ह समेत नहाए । विविध दान महिदेवन्हि पाए ।

हरषि चले मुनि वृंद सहाया । बेगि विदेह नगर निअराया ।
यसको भावार्थ हो ‘तब ऋषिहरूसहित प्रभुले यहाँ (पवित्र गंगा नदीमा) स्नान गर्नुभयो र ब्राह्मणहरूले अनेक प्रकारका दान पाए । फेरि मुनिहरूसहित उहाँ प्रसन्न भएर हिँड्नुभयो त शीघ्र नै विदेहराज जनकको नगर आयो ।’ यसले विदेहराज जनकको नगर अर्थात् जनकपुर गंगा नदीबाट नजिकै रहेको वा हिँड्दा शीघ्र नै आइपुग्ने ठाउँमा रहेको भाव अभिव्यक्त गरेको छ । यसैगरी अर्को श्लोक यस्तो छ :–

सूर सचिव सेनप बहुतेरे । नृपगृह सरिस सदन सब केरे ।
पुर बाहेर सर सरित समीपा । उतरे जहँ हँ बिपुल महीपा ।

यस चौपाईको भावार्थ यस्तो छ ‘अनेक शूरवीर, मन्त्री तथा सेनापतिहरू थिए, तिनीहरूको गृह (घर) राजाको सदन समान थिए । नगरबाहिर तलाव (पोखरी) र नदीहरूको निकट त्यहाँ अनेकौँ राजाहरू आएका थिए । यस चौपाईको ‘पुर बाहेर सर सरित समीपा’ले जनकपुरी नगर बाहिर पोखरी तथा नदी रहेको सन्दर्भलाई संकेत गरेको छ ।

श्रीमद् देवीभागवत पुराणको स्कन्द ६ को १५औँ अध्यायको श्लोक २७ र ३० लाई पनि हेरौँ :

एवं निमि सुतो राजा प्रथितो जनकोऽभवत्,

नगरी निर्मिता तेन गंगातीरे मनोहरा ।

मिथिलेति सुविख्याता – गोपुराट्टाल संयुता,

धन–धान्य समायुक्ता हट्टशला विरजिता ।

यसको भावार्थ हो ‘निमिपुत्र राजा जनकको नामले प्रसिद्ध भए । यिनले नै गंगाको तटमा सुन्दर मिथिला नगर बसाए । ठुल्ठुला तथा मनोहर अट्टालिकाहरूको यो नगरी धनधान्य, हाट बजार एवं शालाहरूले परिपूर्ण थियो ।’
विभिन्न पौराणिक ग्रन्थहरूमा पूर्वमा कौशिकी, पश्चिममा सदानिरा, उत्तरमा हिमालय र दक्षिणमा गंगासम्मको भूमिलाई मिथिला उल्लेख गरिएको पाइन्छ । अन्य ऐतिहासिक ग्रन्थहरूमा यसै क्षेत्रलाई वैशाली वा बज्जी गणराज्य पनि उल्लेख गरिएको पाइन्छ ।

विगतमा राज्यहरूको सीमा हेरफेर भइरहन्थ्यो तर जनकपुरको बारेमा पुराणहरूमा चाहिँ उल्लेख तथ्यहरूले हाम्रो जनकपुरको पुरातात्विक प्रामाणिकतालाई जाहेर गरेको छ कि हाम्रो आस्था र श्रद्धाको उच्चतम केन्द्र जनकपुर नै हो ।

बज्जिका रामायणमा अहिल्या उद्धार गरी गुरु विश्वामित्रका साथ भाइ लक्ष्मणसहित राम जनकपुर आएको वर्णन गरिएको छ :

‘बिहने खनी बिदा ले मुनि से खुसी–खुसी सब चललन ।
आउर दिवस बीते के पहिले जनकपुरी मे अएलन ।।’
अर्थात्, भोलिपल्ट मुनिसित बिदा लिएर सबै हिँडे र दिन बित्नुभन्दा पहिले जनकपुर आए ।

मिथिला परिक्रमा :

मिथिला परिक्रमाले निकै महत्व राखेको छ । वैशाख, फागुन र कात्तिकमा गरी तीनपटक हुने मिथिला परिक्रमामध्ये फागुनको कृष्ण औँसीदेखि शुक्ल पूर्णिमासम्म गरिने परिक्रमालाई विशिष्ट मानिन्छ । यो परिक्रमा करिब १२८ किलोमिटरको हुन्छ । हनुमाननगर, कल्याणेश्वर, गिरिजास्थान, माइथानी, जलेश्वर, मनाई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषा, सतोखरी, हरूसाह, करुना, बिसाउला र जनकपुर आदि स्थान परिक्रमापथमा पर्दछन् । यसलाई पवित्र र गौरवमय परिक्रमाको रूपमा पनि लिइन्छ ।

हरेक ठाउँमा पुग्नुपर्ने र पुगेको ठाउँमा रहेका विभिन्न धार्मिक मठ तथा मन्दिरहरूको दर्शन र पूजा गर्नुपर्ने व्यवस्था तथा चलन रहेको मिथिला माध्यमिकी परिक्रमालाई त्रेतायुगदेखिको चलन मानिएको छ । आस्था र श्रद्धाको अत्यन्त हार्दिक स्वरूपको रूपमा रहेको मिथिला परिक्रमा भनेको, कतिपय आलोचकको शब्दमा, मिथिलाको सीमा क्षेत्रको परिक्रमा हो । मिथिलाको एउटा परिक्रमा २६८ किलोमिटर र जनकपुरको आन्तरिक परिक्रमा करिब ८ किलोमिटरको हुने बताइन्छ ।

निष्कर्ष :


मिथिला कुनै भ्रम होइन, यथार्थ हो । जनकपुर हाम्रो गर्व हो र गरिमा पनि हो । देशको शिर उँचो पार्ने एक विशिष्ट धार्मिक र हार्दिक स्थान हो । यो आफैँमा पवित्र छ । करोडौँ सनातनीसित भावनात्मक हार्दिक सम्बन्ध रहेको जनकपुर र धनुषा क्षेत्रको ऐतिहासिकता तथा पुरातात्विक अध्ययन हुुनुपर्छ । सामान्यतः यस क्षेत्रमा भावनासित जोडिएको अनेक तथ्य र तर्कहरू प्रचलनमा छन् । मिथिलाको गुनगानले पुराणहरू भरिएका छन् । अब पौराणिक सत्यलाई पुरातात्विक र ऐतिहासिक साक्ष्यसित साक्षात्कार गराउनु अत्यावश्यक छ ।

उत्खनन् तथा ऐतिहासिक अध्ययनले अझ नवीन तथ्यहरू उजागर हुने र विश्वको ध्यानाकृष्ट हुनेछ, जसले गर्दा यस क्षेत्रको महत्व झनै बढ्नेछ । अन्यत्र पनि धार्मिक क्षेत्रहरूको उत्खनन् तथा ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले अध्ययन भएको पाइन्छ । हाम्रो सम्पदाको पनि वैज्ञानिक अध्ययन हुनु जरुरी छ, ताकि विज्ञान र पुरातत्वको आलोकमा हाम्रो सम्पदाको चमक सर्वत्र फैलियोस् ।

प्रतिक्रिया