राप्रपा महाधिवेशनमा दुई मापदण्ड : पदाधिकारीलाई मतपत्र, सदस्यका लागि भोटिङ मेसिन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि दुई माध्यमबाट मतदानको व्यवस्था गरिएको छ । जसअनुसार अध्यक्षका प्रतिस्पर्धीहरूलाई कागजको मतपत्रमा मतदान गर्नुपर्ने छ भने अन्य पदहरूमा भोटिङ मेसिनको प्रयोग हुनेछ । दुई प्रकारको मतदानको व्यवस्था गरिएपछि प्रतिनिधिहरू भने असन्तुष्ट देखिएका छैनन् । एउटै महाधिवेशनमा फरक–फरक विधि प्रयोग गरिएपछि महाधिवेशन प्रतिनिधिले शंकाको नजरले हेरेका छन् । ‘यो त अविश्वास गरेको जस्तो देखिएन र ? मतदान पनि एकै तरिकाले भए न सबैलाई सहज हुने हो,’ महाधिवेशन प्रतिनिधि सरिता श्रेष्ठ भन्छिन् ।

श्रेष्ठजस्तै अन्य प्रतिनिधि पनि एउटै माध्यमबाट निर्वाचन गराए आफूहरूलाई दोहोरो भार नपर्ने बताउँछन् । सिरहाका महाधिवेशन प्रतिनिधि हिरालाल यादव भन्छन्, ‘सहमति जुटाउन नसके पनि चुनाव त एकै तरिकाले हुनुपर्ने हो । दुई तरिका अपनाउँदा झन्झट हुन्छ, बुढापाकालाई गाह्रो पर्छ ।’ केन्द्रीय सदस्यकी उम्मेदवारसमेत रहेकी मोना चौधरी एकै किसिमको व्यवस्था नभए मतदान नै बहिस्कार गर्ने बताउँछिन् । ‘निर्वाचनको प्रक्रियामा आएको ठीक छ तर, मतदाताको हकमा भने दोहोरो लाइनमा सकसपूर्ण तरिकाले मतदान कष्टकर हुन्छ,’ चौधरीले भनिन्, ’कि एकै किसिमको व्यवस्थापन होस्, नभए हामी मतदान नै बहिष्कार गर्छौं ।’

प्रतिनिधिको जोड भने सहज र सरल ढंगले एउटै विधिबाट मतदान गर्न पाउनुपर्ने भन्ने रहे पनि निर्वाचन समितिले भने निर्धारित प्रक्रियामा परिवर्तन नआउने प्रतिक्रिया दिएको छ । निर्वाचन समितिका सहसंयोजक तोरणबहादुर गुरुङ निर्वाचन प्रक्रियाबारेको निर्णय केन्द्रीय समितिले गरेकाले परिवर्तन नहुने बताउँछन् । ’यसरी चुनाव गर्ने निर्णय भइसकेको र सबैको समर्थन रहेकाले अरू ढंगले हेर्न जरुरी छैन,’ गुरुङले भने, ‘निर्वाचन निकै निष्पक्ष र पारदर्शी हुनेछ ।’

निर्वाचन प्रक्रियाबारे थप जानकारी दिँदै गुरुङले भने, ‘यो मतदानको प्रक्रिया दुई तरिकाबाट हुँदैछ । अध्यक्षको मतदान मतपत्रमा हुनेछ भने अन्य उम्मेदवारको हकमा भने भोटिङ मेसिन माध्यमबाट गर्छौं ।’ राप्रपाको ’एकताको महाधिवेशन’ १५ मंसिरदेखि सुरु भएको हो । पार्टी नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि राप्रपाले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने भएको हो । पार्टी नेतृत्व चयनका लागि कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच प्रतिस्पर्धा छ ।

१९९ पदका लागि २६६ को उम्मेदवारी 
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीलगायत पदमा उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ । करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् । शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया