ओलीले गरे एमाले अध्यक्षमा पदबहाली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक अध्यक्ष पदमा पदबहाली गरेका छन् । उनले पार्टी कार्यालय थापाथली पुगेर पदबहाली गरेका हुन् । चितवनमा भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट ओली १८३७ मतसहित अध्यक्षमा निर्वाचित भएका उनले आज पदबहाली गरेका छन् । साे क्रममा अध्यक्ष ओलीले  मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।

‘राष्टिय राजनीति जसरी अन्योलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौँ हामी । देश अहिले वर्तमान गठबन्धनको सरकार छ, यसबाट देश चलिरहेको छैन । सबैले अनुभूत गरेको कुरा हो, भन्न नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?,’ ओलीले भने, ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ । देशको समय बर्बाद गर्नु हुँदैन ।’ ओलीले सरकार चौतर्फी असफल भएको आरोप लगाए ।

अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङलगायतले पार्टी कार्यालयमा स्वागत गरेका थिए । सर्वसम्मति अध्यक्ष भएर चितवनबाट फर्कन चाहेका ओली अन्ततः मतदान प्रक्रियामा सामेल भएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया