राप्रपा महाधिवेशन आज समापन हुँदै : १० बजेबाट नेतृत्त्व चयनका लागि उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बुधबारबाट जारी एकता महाधिवेशनको बन्दसत्र आज समापन गर्दैछ । नेता भुवन पाठकका अनुसार आज बिहान ९ बजे बन्दसत्र समापन हुँदैछ । यस्तै नयाँ नेतृत्त्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । समितिले बिहीबार राति मतदाता नामावली सार्वजनिक गरेको थियो ।

सार्वजनिक भएको कार्यतालिका अनुसार आज बिहान १० बजेबाट नेतृत्त्व चयनका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । नेता पाठकका अनुसार मतदान भने भोलि (शनिबार) हुनेछ ।

महाधिवेशन प्रतिनिधिहरुको विषयमा विवाद हुँदा निर्वाचन समितिलाई मतदाता नामावली सार्वजनिक गर्न सकस भएको थियो । राजेन्द्र लिङ्देन समूहले पार्टी अध्यक्ष कमल थापाले जिल्ला जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिहरुको नाम एकलौटी हेरफेर गरेको भन्दै विरोध गरेपछि बन्दसत्र लम्बिएको थियो । विवाद मिलाउन निर्वाचन समितिले ५ सदस्यीय समिति बनाएको थियो ।

राप्रपाको जारी महाधिवेशनबाट नेतृत्त्वमा पुग्न कमल थापा समूह र राजेन्द्र लिङ्देन समूहबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । दुबै समूहले आ–आफ्नो प्यानल बनाइएसकेका छन् ।

प्रतिक्रिया