राप्रपा महाधिवेशन : थापालाई अध्यक्ष रहिरहन हम्मे

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले महाधिवेशनमा अहिलेजस्तो दबाब सायदै पहिले कहिल्यै महसुस गर्नुप¥यो । राप्रपाको नयाँ नेतृत्वका लागि पुरानो पुस्ताविरुद्ध बलियो मोर्चाबन्दी देखिएको छ । त्यसको अगुवाइ गरेका छन्, राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले । महाधिवेशनका ४ हजार ५ सयभन्दा धेरै प्रतिनिधिमा नयाँ तरङ्ग ल्याउने गरी लिङ्देन–राणा अघि बढेका छन् । राप्रपाका अध्यक्षत्रयमध्ये डा. प्रकाशचन्द्र लोहनीले खुलेरै र पशुपतिशमशेर राणाले भित्रभित्रै थापाविरुद्धको यो गठबन्धनलाई साथ दिएका छन् ।

‘पार्टी संस्थापनदेखि अहिलेसम्म पहिलो पुस्ताले योगदान गरिसक्नुभयो । अब नयाँ पुस्ताले पार्टी हाँक्नुपर्छ भन्ने आमकार्यकर्ताको भावना छ,’ महामन्त्रीका उम्मेदवार राणाले भने, ‘आमकार्यकर्ताको त्यो भावना र समर्थन लिएर हामी अघि बढेका छौँ ।’ राप्रपाका दुई प्यानलमध्ये पुरानो पुस्ताबाट थापा उम्मेदवार छन् भने नयाँ पुस्ताका लिङ्देन–राणाको जोडीले उनलाई कडा चुनौती दिइरहेका छन् । यी दुवै नेतालाई थापाले नै विगतमा अघि बढाएका थिए । तर, पार्टीको आकार खुम्चिँदै गयो । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा रहेको जनमतलाई राप्रपाले समेट्न सकेन भन्ने विश्लेषणपछि त्यो अभिभारा पूरा गर्न आफूहरूले नेतृत्वमा दाबी गरेको राणा बताउँछन् ।

नेतृत्वका लागि भइरहेको अहिलेको रस्साकस्सीमा लिङ्देल–राणाको गठबन्धन बलियो हुनुका पछाडि मुख्यतः तीन कारण छन् । पहिलो, २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि स्थापना भएको राप्रपाका तीन टुक्रा मिलेर पार्टी एकीकरण भयो । अध्यक्ष पनि तीनै जना राखिए, थापा, राणा र लोहनी । यो महाधिवेशनबाट राणा र लोहनीले बिदा लिइरहँदा थापा भने मैदानमा उत्रिए । त्यो स्थितिमा राणा र लोहनीको घोषित–अघोषित साथ सहयोग लिङ्देन–राणा गठबन्धनलाई छ ।

दोस्रो, पूर्वपञ्चको पार्टीको पहिचानसहित स्थापित राप्रपामा अहिलेसम्म पनि सोही परिचय स्थापित छ । त्यसो हुनुको कारण पञ्चायतकालदेखिकै नेताहरूको अहिलेसम्म पार्टीमा हालीमुहाली चल्यो । राप्रपाका एजेण्डामा नयाँ पुस्तालाई आकर्षित गर्न पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज चर्को छ । त्यसमाथि, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत हिन्दुराष्ट्र घोषणा र राजतन्त्र पुनःस्थापना चाहने शक्तिले लिङ्देनलाई ग्रीन सिग्नल दिएको छ । जनजाति समुदायको ठूलो जनमत धर्मनिरपेक्षताको पक्षमा रहेका बेला जनजाति नेता लिङ्देनको नेतृत्वमा हिन्दुराष्ट्र घोषणाको मुद्दा बोक्दा देशव्यापी रूपमा ठूलो सन्देश जाने त्यो शक्तिको विश्वास देखिन्छ ।

तेस्रो कारण, लिङ्देन र राणा दुवै लोकप्रिय जनप्रतिनिधि हुन् । देशभर राप्रपाले पराजय ब्यहोर्दा पनि यी दुई नेताले आफ्नो व्यक्तित्वको बलमा चुनाव जिते । लिङ्देन संघीय संसदमा राप्रपाबाट निर्वाचित एक मात्र सांसद हुन् । उनी झापा ३ बाट झण्डै ५७ प्रतिशत मतका साथ विजयी भएका थिए ।

राणा नेपालगञ्ज उपमहानगरपालिकाका लोकप्रिय मेयर हुन् । २०५४ सालमा एमालेबाट नगर प्रमुख रहेका राणा २०६२–२०६३ को जनआन्दोलन र गणतन्त्र स्थापनाप्रति असहमति राख्दै राप्रपा प्रवेश गरेका थिए । देशभरमा राप्रपाको जनमत परीक्षणमा उत्तीर्ण यी दुई नेताले अगुवाइ गरेकाले पनि अध्यक्ष थापाका लागि यसपटकको महाधिवेशन चुनौतीपूर्ण बनेको छ ।

विगतमा अध्यक्ष थापानिकट रहेर काम गरेका धेरै नेताहरूले अहिले लिङ्देन–राणालाई साथ दिइरहेका छन् । केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका युवानेता ऋषिराज देवकोटा भन्छन्, ‘पुरानो पुस्ताले गर्न सक्ने गरिसक्यो । पार्टी अब योभन्दा तल जान सक्दैन । त्यसैले यो महाधिवेशनबाट नयाँ पुस्ताले नेतृत्व सम्हाल्नेछ ।’ उनी स्वयम् पनि अध्यक्ष थापाका सहयोगी थिए । तर, यसपटक राप्रपामा नयाँ नेतृत्व ल्याउन लिङ्देन–राणा पक्षमा उभिएका छन् ।

लिङ्देनले पार्टीको जीवन वा मृत्यु रोज्न कार्यकर्तालाई आह्वान गरिसकेका छन् । अध्यक्षत्रयप्रति उनको सन्देश छ, ‘राप्रपा जीवित रहे मात्र यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास रहन्छ । त्यसैले नेतृत्व हस्तान्तरण गर्नुस् ।’ पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले भनेका छन्, ‘६ महिनाभित्र राप्रपाभन्दा बाहिर रहेका हिन्दुराष्ट्र र राजसंस्थाको पक्षधर सबै समूह, संस्था र धार्मिक क्षेत्र समेटेर बृहत शक्ति निर्माण अभियान अघि बढाउँछौँ । राजसंस्था र हिन्दु राज्य चाहिन्छ भन्ने कोही पनि व्यक्ति राप्रपाभन्दा बाहिर नरहने व्यवस्था मिलाउँछौँ । नेपालको मूल राजनीतिक केन्द्रको रूपमा राप्रपालाई पुर्याउँछौँ ।’

अध्यक्ष थापाले गत निर्वाचनमा प्रत्यक्षतर्फ पाँच स्थानमा मात्र उम्मेदवारी दिनु कमजोरी भएको स्वीकारिसकेका छन् । उनले चार वर्ष धैर्य गर्न लिङ्देन र राणासँग आग्रह गरेका छन् । ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुँडिखेलमा दौडौँ । दौडदा मलाई जित्नुभयो भने म अध्यक्षको उम्मेदवार हुन्नँ,’ उम्मेदवारी घोषणा गर्दै थापाले भनेका थिए, ‘एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइँदैन । नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन ।’

अध्यक्षको उम्मेदवार शुल्क १ लाख ! 
राप्रपाले अध्यक्षको उम्मेदवारका लागि १ लाख रुपैयाँ शुल्क तोकेको छ । त्यसैगरी उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । राप्रपाले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्नेछ ।

बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको उम्मेदवार बन्दैछन् । काठमाडौंको भृकुटीमपण्डमा जारी महाधिवेशन १७ मंसिरमा सकिने कार्यतालिका छ । अध्यक्षको प्रत्यासी थापा र लिङ्देनबीच सहमति नजुटेका कारण मतदान हुँदैछ ।
राप्रपाले अध्यक्षमा मतपत्रको प्रयोग गरी निर्वाचन गर्ने र अन्य पदका उम्मेदवारको हकमा विद्युतीय मतदान प्रयोग गर्ने तयारी गरेको छ । राप्रपाको महाधिवेशनमा करिब ४७ सय प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया