‘एमालेको केपी गुटचाहिँ मधेस र आदिवासी जनजाति विरोधी छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र कार्यकर्ता नबिग्रेको बताएका छन् । बिहीबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नेता बिग्रिएको बताए। ‘अप्ठ्यारो स्थितिमा पनि जनता हामीसँग आए भनेपछि जनता र कार्यकर्ता बिग्रेका होइन, अलिअलि बिग्रेको बरु नेताहरु नै हो। नेताहरु सच्चिन्छन् भनेपछि त पूरै चिज ट्र्याकमा आउँदोरहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले भने ।

प्रचण्डले आफूहरु आन्दोलनमा गइसकेपछि र जनतालाई अपिल गरिसकेपछि जनता आफूहरुको साथमा हुँदोरहेछ भन्ने कुरा केपी ओलीले संसद् विघटन गरेपछि पुष्टि भएको बताए । प्रतिगमन विरोध आन्दोलनका बेलामा भएका ठूल्ठूला जनप्रदर्शन र जनसभाहरुमा पनि लाखौंको संख्यामा जनता आएको उनले बताए ।

प्रचण्डले आफूले प्रधानमन्त्री हुँदा राखेको संविधान संशोधन प्रस्ताव एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो पारित नभएको बताए । ‘तपाईंहरुलाई थाहा छ, एमालेको केपी गुटचाहिँ मधेस विरोधी छ । आदिवासी जनजातिको विरोधी छ । दलित, महिला र मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी छ। उसैको कारणले संविधान संशोधन पनि भएन,’ उनले भने ।

प्रतिक्रिया