कति जोखिमपूर्ण छ हैजा ? न्यूनीकरण कसरी ?

डा. पल्लवी कोइराला

सानो प्रतिनिधि दृष्टान्त हो– करिब एक महिनाअगाडि नेपालको पश्चिमी तराईको कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको हैजाको प्रकोप । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाअनुसार त्यहाँ हजारौँ मानिसहरू यो रोगबाट संक्रमित भए भने कैयौंको ज्यान पनि गयो । नेपालमा केहि दिन अगाडि मात्र हैजाको ओरल कलेरा भ्याक्सिन नेपाल आइपुगेको छ जसले मृत्यु दर घट्नुका साथसाथै समाजमा ठूलो राहत प्रदान गर्नेछ ।

विश्वव्यापीरूपमा फेलिएको कोभिड–१९ ले मानवजातिलाई यति आक्रान्त बनाइसकेको छ कि हामी त्यो भन्दा पनि जोखिमपूर्ण रोगहरूलाई पनि बेवास्ता गर्न थालिसकेका छौँ । त्यसैको सानो प्रतिनिधि दृष्टान्त हो– करिब एक महिनाअगाडि नेपालको पश्चिमी तराईको कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको हैजाको प्रकोप । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाअनुसार त्यहाँ हजारौँ मानिसहरू यो रोगबाट संक्रमित भए भने कैयौँको ज्यान पनि गयो । नेपालमा केही दिन अगाडि मात्र हैजाको ओरल कलेरा भ्याक्सिन नेपाल आइपुगेको छ जसले मृत्यु दर घट्नुका साथसाथै समाजमा ठूलो राहत प्रदान गर्नेछ ।

विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको उक्त खोप युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो । २१औँ शताब्दीमा पनि झाडापखालाको रोगबाट मृत्यु भएको देख्नु अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । सुरक्षित पिउने पानी र उचित सरसफाइ पूर्वाधारको अभाव भएका धेरै असुरक्षित बस्ती र विपन्न वर्गहरूमा हैजा एक प्रमुख हत्याराको रूपमा रहेको पाइन्छ ।

कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ । यसर्थ रोग लागेर उपचारमा स्रोत र साधन खर्चिनुभन्दा रोग लाग्न नदिनको लागि समुदायमा समुदायसँग व्यापकरूपमा काम गर्नुपर्ने देखिन्छ । सबैभन्दा ठूलो बिडम्बना त के हो भने जुन समुदायमा हैजा फैलिएको छ त्यस समुदायका बासिन्दाको मन मस्तिष्कमा यसको जोखिमको आभास, डर नै छैन । हामीले समुदायलाई यसबारे सचेत गरी उनीहरूको व्यवहार परिवर्तन गर्नसके मात्र यसले दिगो समाधान दिन्छ । नेपाल खुला दिसामुक्त देश घोषित भएसँगै कपिलबस्तु जिल्ला पनि खुला दिसामुक्त क्षेत्र हो तर वास्तविकता त के हो भने यहाँका अधिकांश घरहरूमा शौचालय छैन, आफैँ बनाएका वा कुनै संघसंस्थाले बनाइदिएका शौचालयहरू पनि प्रयोगविहीन छन् । गरिब र अशिक्षित मात्र होइन, आर्थिक रूपमा सम्पन्न र शिक्षित भएकाहरू समेत मोटरसाइकल चढेर खेतमै खुला रूपमा दिसा गर्न जान्छन् । खुला रूपमा दिसा गर्न पाउनु जन्मसिद्ध अधिकारझैँ मान्ने यहाँका आमनागरिकलाई सो गर्नबाट रोक लगाउन यहाँका राजनीतिका दलका नेताहरूले ठूलै भूमिका खेल्नुपर्ने देखिन्छ । आउँदै गरेको स्थानीय चुनावमा हुने हार वा जितलाई वास्ता नगरी यो मुद्दा जोडदार रूपमा उठाउनुपर्ने देखिन्छ ।

हैजा भनेको दुषित पानी पिउँदा वा दुषित खाना खाँदा ब्याक्टेरियाबाट सर्ने रोग हो । गम्भीर हैजालाई ठूलो मात्रामा पानीको पखालाले चित्रण गर्छ । जसलाई प्रायः ‘चामल–पानी मल’ भनेर वर्णन गरिएको छ । किनभने यो फिक्का, दूधे समेत देखिन सक्छ । यो वाकवाकी र बान्तासँग पनि हुन सक्छ । यदि समयमै उपचार गरिएन भने घातक हुन सक्छ । हैजाको ब्याक्टेरिया भिब्रियो कोलेरा संक्रमणपछि एकदेखि १० दिनसम्म दिसामा रहन्छन् र वातावरणमा फैलिनसक्छ र सम्भावित रूपमा अन्य मानिसहरूलाई संक्रमण गर्दछ ।

हैजा निम्त्याउने ब्याक्टेरिया सामान्यतया संक्रमण भएको व्यक्तिको मलबाट दूषित खाना वा पानीमा पाइन्छ । सामान्य स्रोतहरू जस्तैः नगरपालिकाको अव्यवस्थित पानी आपूर्ति, सडक बिक्रेताहरू द्वारा खुल्ला स्थानमा बेचेको खाना र पेय पदार्थ, दिसापिसाब मिसिएको पानीमा फल्ने तरकारी, काँचो वा कम पकाएको माछा र ढलको प्रदूषित पानीमा यसका अवशेषहरू सक्रिय रूपले जीवित रहन्छन् । जब एउटा व्यक्तिले दूषित खाना वा पानी उपभोग गर्दछ, ब्याक्टेरियाले आन्द्रामा विषाक्त पदार्थ छोड्न थाल्छ जसले गम्भीर पखाला उत्पन्न गर्दछ ।

हैजा सजिलै र छिटो फैलन्छ तर यसको सजिलै उपचार पनि गर्न सकिन्छ । हैजाको प्रकोपको बेला उपचारमा द्रुत पहुँच आवश्यक छ । ओरल रिहाइड्रेसन थेरापी अर्थात् जीवन जल समुदायहरूमा उपलब्ध हुनुपर्दछ । ठूला उपचार केन्द्रहरूमा तुरुन्त आवश्यक जनशक्ति खटाउनुपर्छ । जसले ओआरएस र २४ घण्टा हेरचाह प्रदान गर्न सक्छ । प्रारम्भिक र उचित उपचारले मृत्यु दर एक प्रतिशतभन्दा रहेको छ । हैजाको प्राथमिक रोकथाम व्यक्तिगत स्तरमा उपयुक्त व्यक्तिगत सरसफाइ, सफा खानेपानी आपूर्ति, सफा र पोषिलो खानाको उचित तयारी, साथै तत्काल पहिचान र उपचारद्वारा प्राप्त गर्न सकिन्छ । समुदायमा उचित र व्यापक खोपको माध्यमबाट सामुहिक प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) विकास गर्नका साथै प्रकोपको प्रारम्भिक पहिचानको माध्यमबाट समुदायस्तरमा व्यापक सचेतना जागृत गराउन सकिन्छ ।

स्थानीय तहसँगको सक्रिय सहभागितामा प्रकोपको समयमा ब्यापक र द्रुत गतिमा सचेतना अभियानहरू सञ्चालन गर्नुपर्दछ । समुदायलाई हैजाको सम्भावित जोखिम र लक्षणहरूबारे जानकारी, हैजाबाट बच्न अपनाउनु पर्ने सावधानी, समन्वय र सहकार्य गर्नुपर्ने स्थानहरू र लक्षणहरूका सम्बन्धमा निरन्तर सुसूचित गराउनुपर्दछ । पहुँचयुक्त र उपयुक्त उपचार स्थलहरू साझा गर्नुपर्छ । सामुदायिक चासो, सरोकार र संलग्नताले व्यवहारमा दीर्घकालीन परिवर्तन भई हैजा नियन्त्रणको लागि महत्वपूर्ण हुन्छ ।

हैजाको प्रकोप नियन्त्रण गर्न र हैजाको उच्च जोखिम मानिने क्षेत्रहरूमा रोकथामका लागि पानी र सरसफाइमा भएको सुधारको संयोजनमा हैजा खोप प्रयोग गर्नुपर्छ । सरकारले हैजाको रोकथामका लागि हात धुने प्रविधिजस्तो राम्रो र प्रभावकारी क्षेत्रमा लगानी गरिरहेको छ । हात धुनु महत्वपूर्ण पाटो भएता पनि नेपालमा हैजा सर्ने अन्य नयाँ मार्गहरू देखा परिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको हैजा नियन्त्रण साझेदारहरूको ग्लोबल टास्क फोर्स ‘इन्डिङ कोलेरा–अ ग्लोबल रोडम्याप टू २०३०’ को कार्यान्वयनमार्फत हैजा अन्त्य गर्ने कार्यको लागि आह्वान गरेको छ । हैजाबाट प्रभावित देशहरूलाई हैजाको संक्रमण अन्त्य गर्न थप प्रयास र स्रोतहरू पहिचान गराउन आग्रह गरिएको छ । यस सन्दर्भमा, हैजा विरुद्धको खोपले हैजाको प्रकोप रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

हैजा नियन्त्रणको दीर्घकालीन समाधानका लागि सुसुचित समाज, सुरक्षित पिउने पानी र पर्याप्त सरसफाइमा पहुँच बढाउनु जरुरी छ । नेपालमा हैजाको प्रकोपको निगरानीलाई द्रुत रूपमा पत्ता लगाउन र प्रतिक्रिया दिन राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक देखिन्छ । एकीकृत र प्रभावकारी समाधानका लागि नीति निर्माणकर्ता, जनस्वास्थ्य प्रशासक र प्रबन्धकहरू र स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तित्वहरूको संलग्नता र प्रतिबद्धता आवश्यक छ । यो रोगको निगरानी र प्रकोपलाई द्रुत रूपमा समाधान गर्न स्थानीय तह, प्रादेशिक तथा सरोकारवाला सबै पक्षबाट राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक छ ।

प्रतिक्रिया